काठमाडौं– केहीदिनअघि बोस सोलार हिटरको विज्ञापनमा अभिनय गरेको भिडियो आफ्नो फेसबुक पेजमा राखेपछि अभिनेत्री करिश्मा मानन्धरले थुप्रै आलोचना खेप्न पुगिन्।
उसो त नेकपा एमाले प्रवेश गरेयता उनी सामाजिक सञ्जालमा ट्रोलको विषय बन्ने गर्छिन्।
विज्ञापनमा आफूलाई गरिएको आलोचना र यसबारे बनेको समाचारलाई लिएर करिश्माले ध्यानाकर्षण गरेकी छन्। उनले आफू बोस होम एपिलियन्ससँग २ वर्षदेखि जोडिएको र प्रशंसक पनि भएको बताएकी छन्।
फेसबुक पोस्टमार्फत् करिश्माले आफूले नयाँ निर्माण गर्न लागेको भवन र रेस्टुरेन्टमा पनि बोसको सामग्री जडान गर्न लागेको बताइन्। ‘कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन। त्रुटि मानिसबाटै हुने हो! यसको प्रचारको काममा मेरो उपस्तिथि रहने भए पनि, प्रचार निर्माण सामग्रीमा मेरो हात हुँदैन,’ उनले भनिन्।
उनले यसबारे बन्ने अन्य विज्ञापनमा बोसका आधिकारिक व्यक्ति र आफ्नो सक्रियता रहने जानकारी गराइन्।
विज्ञापनको गुणस्तरलाई लिएर पनि उनले आलोचना खेपेकी थिइन्।
‘विज्ञापनको पनि सुधार अवस्य हुनेछ। यहाँहरूको प्रतिक्रियालाई असाध्यै सकारात्मक रुपमा लिएको छु। करिश्माको हरेक क्रियाकलापलाई चासोका साथ हेरेर साथ र सुधार्ने मौका दिनुभएकोमा आभारी छु। कहिलेकाहीँ हास्नु पनि पर्छ,’ उनले लेखेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।