रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जुडोका ब्ल्याकबेल्ट हुन्। विश्व राजनीतिक मञ्चमा उत्रिँदा उनी जुडोका दुई विशेष गुण खुब प्रयोग गर्छन्, चलाखी र आक्रमक शैली। त्यसैले पुटिन अहिले अमेरिकी चुनावमा हिलारी क्लिटनको पराजयदेखि ईयुबाट बेलायतलाई बाहिर निकाल्ने घटनाका नायक मानिएका छन्।
पुटिन रुसलाई शक्तिशाली बनाउने अभियानमा निरन्तर क्रियाशील छन्। सन् २०१४ मा विश्व समुदायको विरोधका बाबजुद सैन्य शक्तिको आडमा उनले क्रिमियालाई रुसमा गाभे।
सन् २०१५ देखि सिरियामा निरन्तर आक्रमण गरिरहेका छन्। सिरियाका राष्ट्रपति बसर अल असदलाई अमेरिकाले पदच्युत गर्न खोजे पनि उनले निरन्तर आड दिइरहेका छन्।
क्रिमियालाई रुसमा गाभ्ने विषय होस् वा सिरियाको द्वन्द्व, पुटिनको नीति प्रस्ट छ– ‘थ्रो द फर्स्ट पन्च।’
पुटिनको जन्म सेन्ट पिटर्सवर्ग (तत्कालीन लेनिनग्राद) मा सन् १९५२ को अक्टोबर ७ मा भएको हो। उनी सानैदेखि झगडालु स्वभावका थिए। छोटकरीमा भन्नुपर्दा ‘स्ट्रिट फाइटर’।
२०१५ मा अन्तर्वार्ता दिने क्रममा उनले बाल्यकालको घटना स्मरण गर्दै भनेका थिए, ‘झगडा हुँदैछ भने पहिलो मुक्का आफैले बजार्नुपर्छ। रुसमा कतिबेला आतंकवादी हमला हुन्छ, यो दिन कुर्नुभन्दा सिरियामा आतंकवादीलाई समाप्त पार्नु नै उत्तम हो।’
जासुसदेखि राष्ट्रपतिसम्म
पुटिन कानुनका विद्यार्थी हुन्। उनी विश्वविद्यालयको अध्ययन सकेर तत्कालीन सोभियत संघ (हाल रुस) को गुप्तचर सेवामा छिरेका थिए। उनले १९८९ भन्दा अगाडि कम्युनिस्ट सत्ता रहेको पूर्वी जर्मनीमा रहेर सोभियत संघका लागि गुप्तचरी गरेका थिए। १९९० मा सोभियत संघ विघटन भएपछि पहिलो राष्ट्रपति बनेका बोरिस एल्सिनको सुरक्षा निकायको प्रमुख भएर उनले १९९७ मा काम गरे।
रोचक कुरा त याल्सिनको सुरक्षा प्रमुख रहेका पुटिन केही समयपछि नै प्रधानमन्त्री बने। पुटिन यति ठूलो ‘मास्टर माइन्ड’ थिए, सन् १९९९ को अन्त्यमा एल्सिनले राष्ट्रपति पदबाट राजीनामा गर्दा पार्टीका दिग्गज नेतालाई छोडेर पुटिनलाई आफ्नो कार्यकारी नियुक्त गरेका थिए।
सन् २००० को मार्चमा पुटिनले राष्ट्रपतिको निर्वाचनमा बाजी मारे।
सोभियत संघको गुप्तचर संस्था (केजीबी) मा अफिसर र्यांकमा रहेका पुटिन अर्थतन्त्र र सैन्य सम्बन्धका राम्रै जानकार मानिन्छन्।
सन् २००० मा पहिलो कार्यकालका लागि राष्ट्रपति चुनिएपछि उनले सुरुवातका दुई कार्यकाल तेल र ग्यास बेचेर रुसको अर्थतन्त्र उकासे।
सन् २०१४ को ‘विन्टर ओलम्पिक’लाई पुटिन युगको उदयको रुपमा लिने गरिन्छ। कम्युनिस्ट शासनमा रुसले कमाएको ‘सुपर पावर’को दर्जालाई पुनर्भाषित गर्न उनले ओलम्पिक इतिहासमै सर्वाधिक धन खर्चे। आफ्नो वैभव प्रदर्शन गर्न उनले झन्डै ५१ विलियन अमेरिकी डलर खर्चेका थिए।
सन् २००० देखि क्रेमलिनमा एकछत्र गरेका पुटिनको लोकप्रियता घटेको छैन। राष्ट्रवादी छवि बनाएका पुटिन २०१२ देखि तेस्रो कार्यकालका लागि छानिइसकेका छन्। रुसी मिडियाको दाबी पत्याउने हो भने, उनको लोकप्रियता देशमा ८० प्रतिशतभन्दा माथि छ। क्रेमलिनमा उनको कार्यकाल २०१८ सम्म रहनेछ।
देशभित्र उनले आफ्नो छवि राष्ट्रवादी बनाए पनि आलोचक कम छैनन्। उनीमाथि पहिलो कार्यकालमा ‘लिबरल’हरुलाई दमन गरेको आरोप लाग्ने गरेको छ। उनीमाथि प्रजातान्त्रिक परिपाटीलाई हुर्कन नदिएको आरोप विपक्षीहरुले लगाउँदै आएका छन्।
सन् २००४ मा पुटिन दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा उठ्दा रुसमा सोभियत कालखण्डपछिकै सबैभन्दा ठूलो सरकारविरोधी प्रदर्शन भयो। उनी राष्ट्रपति निर्वाचित भएपछि पनि सडकमा विरोधको चर्को नारा लाग्यो। पुटिनको पार्टी युनाइटेड रसियाविरुद्ध विपक्षीहरुले भन्दै आएका छन्, ‘यो ठग र चोरहरुको पार्टी हो।’ आफू र आफ्नो पार्टीको विरोध गर्ने बोरिस बोरिजोभिस्की र भ्लादिमिर गुसिनिस्काईलाई विदेशमा शरण लिन बाध्य बनाएको उनीमाथि आरोप छ।
१७ वर्ष अनवरत रुसी शासनमा टिकेका पुटिनको अर्को परिचय पनि छ। विपक्षीहरु उनलाई धनाढ्य र हस्तक्षेपकारी शासक भन्न रुचाउँछन्।
पछिल्लो समय आफ्नो कट्टर प्रतिद्वन्दी मानिएको अमेरिकाको राजनीतिमा उनको हस्तक्षेपकारी भूमिकालाई संसारले अनौठो र अपत्यारिलो नजरले हेरेको छ। अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रत्यासी हिलारी क्लिन्टनका थुप्रै गोप्य फाइल रुसी गुप्तचरहरुले पर्दाफास गरेका थिए। जसले गर्दा ट्रम्प निर्वाचन जित्न ठूलो फाइदा पुग्यो। राष्ट्रपतिय निर्वाचनमा ह्याकिङ समेत भएको चर्चा चल्यो। ट्रम्पलाई जिताउने अभियानमा पुटिन सफल भएको भन्दै डेली विस्टले लेखेको थियो, ‘अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जिते पनि वास्तविक जित पुटिनको थियो।’
जुडोका माहिर खेलाडी पुटिनले ट्रम्पलाई जिताउन त्यतिकै सहयोग नगरको अन्तर्राष्ट्रिय जानकारहरुको भनाइ छ। उनीहरु इस्लामिक स्टेट आइएसविरुद्ध अमेरिका र रुससँगै लड्नुपर्ने नीति कार्यान्वयनमा ल्याउन पुटिनले ट्रम्पलाई निर्वाचनमा सघाएको अर्थ लगाउँछन्। उनले अघिल्लो राष्ट्रपति ओबामासँग पनि त्यही प्रस्ताव गरेका थिए। तर ओमाबाले पुटिनको प्रस्तावलाई नजरअन्दाज गर्दै एक्लै सिरियाको मुद्दामा अगाडि बढ्यो। सिरियामा अमेरिकी नीति फेल गराउन पुटिन सफल भएको बताइन्छ।
ओबामा प्रशासन राष्ट्रपति बसर अल हसदलाई हटाउन प्रयत्नशील थियो। तर, पुटिन उनको ढाल बनेर बसे। रुसको भूमिकाका कारण अमेरिकाले सिरियामा अख्तियार गरेको नीति प्रभावशाली बन्न सकेन।
पुटिन तत्कालीन सोभियत संघ गठबन्धनको भरपर्दो सदस्य पूर्वी जर्मनीले पश्चिम जर्मनीसँग एकिकरण गर्दा त्यसका साक्षी थिए। सोभियत संघ विघटन हुँदा उनले सोभियत राष्ट्रमा आबद्ध थुप्रै देशहरु एकपछि अर्को गर्दै अमेरिकी योजनाअन्तर्गत गठन भएको नाटोमा आबद्ध हुँदा टुलुटुलु हेर्नुपर्यो।
सोभियत संघ विघटनपछि नाटोको नाममा अमेरिकाले २० वर्ष विश्व रंगमञ्चमा जमाएको एकछत्रमा पुटिन सधैँ मौन रहे। अहिले अवस्था उल्टिएको छ। अधिकांश बेलायती मतदाताहरुले युरोपेली युनियनबाट बेलायत बाहिरिनुपर्ने पक्षमा मत खसाले। अब युरोप बिस्तारै कमजोर हुँदै गएको छ। युरोपेली युनियनलाई कमजोर बनाउन प्रत्यक्ष रुपमा पुटिनको कुनै संलग्नता देखिदैन। तर बेलायतलाई ईयुबाट हटाउन पुटिनको विदेश–नीतिले महत्वपूर्ण भूमिका खेलेको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु बताउँछन्।
ईयुबाट बेलायत बाहिरिएलगत्तै धेरैले यसलाई पुटिनको जित र अमेरिकी हारका रुपमा पनि अर्थ्याए। कतिपयले यसलाई युरोपबाट बेलायतको स्वतन्त्रता मात्रै नभएर अमेरिकाबाट युरोपको स्वतन्त्रताका रुपमा बुझ्नुपर्ने तर्क राखेका छन्।
जे होस्, विश्वकै शक्तिशाली सेनामध्येको एक बेलायती सेना र विश्वकै उत्कृष्ट कूटनीतिक संयन्त्र अब ईयुसँग छैन। त्यसैले रुसले बेलायतसँगको सम्बन्ध झनै प्रगाढ हुने बताइसकेको छ।
‘राष्ट्रपति पुटिनको नीतिले ब्रक्जिटमा सफलता हात परेको छ। यो हाम्रो राष्ट्रपतिले अँगालेको वैदेशिक नीतिको प्रभाव हो,’ क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले बेलायतको ईयुबाट बहिर्गमनपछि प्रतिक्रिया दिएका थिए।
पुटिनको प्रभाव अमेरिकामा बढ्दै गएको भन्दै केही समयअगाडि अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध दुई लाख महिला सडकमा उत्रिएका थिए। विश्व हल्लाउने अमेरिकी राष्ट्रपतिलाई अहिले 'पुटिनको कठपुतली'को संज्ञा दिन थालिएको छ।
जुडोको दाउपेच राजनीतिमा राम्रोसँग प्रयोग गरिरहेका पुटिनले यसअघि थुप्रै आश्चर्यजनक नतिजा निकालिसकेका छन्। अब हेर्न बाँकी छ, आतंकवाद विरुद्धको लडाइँमा उनको जुडो शैली कतिको प्रभावशाली साबित हुन्छ!
(एजेन्सीहरुकाे सहयाेगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।