काठमाडौं- नेकपा एमालेले उपराष्ट्रपतिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ। शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रोपटक हो। यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उनलाई उम्मेदवार बनाएको थियो। त्यतिबेला राष्ट्रपतिको उम्मेदवार भने रामप्रित पासवान बनेका थिए।
२०६५ साउन ४ गते राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने तय भएको थियो। त्यसका लागि साउन २ गते उम्मेदवारी दर्ताको मिति तय भएको थियो।
राष्ट्रपतिमा माधवकुमार नेपाललाई सघाउने सहमति माओवादी र एमालेबीच साउन २ गते बिहानसम्म जारी नै थियो। त्यसबारे जानकारी दिन एमालेले पार्टीको बैठक बोलाएको थियो। तर, त्यतिबेला माओवादीले झलनाथ खनाललाई बोलाएर सहमति भंग भएको जानकारी दिएको थियो। उनले सोही कुरा एमाले बैठकमा आएर ब्रिफिङ गरेका थिए।
त्यसपछि एमालेले राष्ट्रपति र उपराष्ट्रपतिमा आफ्नो उम्मेदवार तय गरेको थियो।
निर्वाचन हुनुअघिसम्म माओवादीबाट राष्ट्रपतिका उम्मेदवार बनेका रामराजाप्रसाद सिंहले जित्ने सम्भावना बलियो देखिएको थियो। तर, उनलाई सघाउन तयार भएको मधेसी जनअधिकार फोरमले उपराष्ट्रपतिमा आफ्ना उम्मेदवार परमान्द झालाई सघाउनुपर्ने सर्त राख्यो। माओवादी तयार भएन। फोरमले माओवादीको साथ छाड्यो।
माओवादीबाट राष्ट्रपतिमा धोका पाएका गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र उपराष्ट्रपतिमा सहयोगको प्रतिबद्धता नपाएका फोरम अध्यक्ष उपेन्द्र यादवबीच साउन ४ गते नयाँ गठबन्धन बन्यो। जसअनुसार, राष्ट्रपतिमा कांग्रेस, उपराष्ट्रपतिमा फोरम र संविधान सभा अध्यक्षमा एमालेलाई सघाउने सहमति बन्यो।
सहमतिपछि कांग्रेस र एमालेका उपराष्ट्रपतिका उम्मेदवारहरुको उम्मेदवारी स्थगित भयो। यद्यपि, प्रक्रियामा रहेकाले उनीहरुको नामसहित मतदान भयो।
उपराष्ट्रपतिका लागि भएको मतदानमा विजयी मधेसी जनअधिकार फोरमका परमानन्द झाले ३०५ मत पाए। त्यस्तै, माओवादी उम्मेदवार शान्ता श्रेष्ठले भने २४३ मत पाइन्।
उम्मेदवारी स्थगित गरेका कांग्रेसका मानबहादुर विश्वकर्माले २ र अष्टलक्ष्मी शाक्यले ४ मत प्राप्त गरे। उपराष्ट्रपतिको चुनावमा २४ मत बदर भएको थियो।
त्यस दिन राष्ट्रपति निर्वाचित हुन सकेनन्। साउन ६ गतेको निर्वाचनबाट रामवरण यादव निर्वाचित भएका थिए।
यसपटक फागुन २५ मा भएको राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भइसकेका छन्। उनीसँग प्रतिस्पर्धा गरेका एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ पराजित भए।
यसअघिका राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे विस्तृतमा पढ्नुहोस्-
रामवरणदेखि रामचन्द्रसम्म : राष्ट्रपतिका चार निर्वाचनको विस्तृत विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।