काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ९ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्यधिक मतले जित्ने दाबी गरेका छन्।
मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ९ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो दाबी गरेका हुन्।
उनले मंगलबारको बैठकमा २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भएको जनाए। आगामी दिनमा ९ दलीय गठबन्धनलाई व्यापक र विस्तार गर्दै जाने खड्काले बताए।
‘गठबन्धन त अघि बढिसक्यो। सबैले सहयोग गरेर अत्यधिक मतले जित्नुहुन्छ। त्यसकै जगमा यसलाई विस्तार र व्यापक गर्दै अघि जान्छौँ। अत्यधिक मतले हामी जित्छौँ’, उनले भने।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले मंगलबारको बैठकमा गठबन्धनलाई विस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको जनाए।
‘आज प्रारम्भिक छलफल भएको छ, कुनै निष्कर्ष भएको छैन। गठबन्धनलाई विस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको छ’, भुसालले भने।
सरकार विस्तारको बारेमा भने राष्ट्रपति निर्वाचनपछि मात्रै थप कुरा अघि बढ्ने बैठकमा सहभागी नेताहरूको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।