काठमाडौं- पशुपति शर्मा लोक जीवनलाई लयमा ढाल्न खप्पिस कलाकार मानिन्छन्। ‘मलाई अमेरिका यही’ भनेर देशमै गर्न चाहनेमा गीतबाटै आशाको सञ्चार भरेका थिए कुनै बेला पशुपतिले।
पौरख र परिश्रमलाई प्रोत्साहन गरे। यहीँ केही गर्न अमेरिकाको आशा नगरेकाहरुलाई प्रणालीले गरेको अवरोधले उनलाई खलबल्यायो। देशको प्रणालीमाथि प्रश्न गर्दै गीतमाथि उनले आगो ओकले- लुट्न सके लुट।
गीतबाट झोस्न खोजिएको आगोको लप्काले तत्कालीन शासकलाई समेत अलिकति भेट्यो र गीतकै कारण उनी प्रताडित समेत भए।
तिनै गायक शर्माको स्वरमा अर्को गीत आएको छ- कैले कमाउनी। स्वर र अभिनय शर्माको भए पनि उक्त गीतका शब्द र संगीत भने तिलक वलीका हुन्। पशुपतिलाई गायनमा तिलक वली र कामना वलीले समेत साथ दिएका छन्। ‘मलाई अमेरिका यही’ गायकको स्वरले परदेशिनु नै पर्ने परिस्थिति गाउँछ:
छैन जागिर नेपालमै खाम भने
ज्यानकै बाजी परदेश जाम भने
साथीभाइले डलर छापे
मैले यसै हल्लेर के नापें
शर्माले रुचाउने ‘प्याटर्न’मा लेखिएको गीतमा भने मध्य उमेर पुगेकाहरुको हतास पोखिएको छ। उमेर बढ्दोछ तर बैंक खाता त्योअनुसार नबढिरहेको अवस्थालाई लिएर गीत बनाइएको छ। गीतको मुख्य कथा छ:
कैले कमाउनी, कैले रमाउनी
आउँछ दिन विस्तारै लौरी समाउनी
समाज पैसामुखी भएको छ। पैसा हुनेका लागि सबथोक गर्ने र पैसा नहुने समाज, परिवारबाटै बहिस्कृत हुनुपर्ने खराब मौसम चलिरहेको छ। पैसा नहुनेहरुसँग आफ्नै निकटस्थ र साथीभाइहरु समेत टाढिने गरेको आम अनुभूति हुन थालेको छ। सामाजिक प्राणी मानवलाई पैसाले समाजमै 'असामाजिक' बनाउँदै लगेको छ। त्यतातिर लक्षित गर्दै गीतमा भनिएको छ:
पैसो भए सबैले ज्यान दिनी
चाहियो मलाई दु:खमा ध्यान दिनी
बाउ र आमा श्रीमती पनि
बल्ल आफ्ना धनपैसा छ भनी
गीतमा संगीत संयोजन विनोद बाजुरालीले गरेका छन्। वीरेन्द्र वलीले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनय गायक शर्माका साथै कामना वली, वीरेन्द्र वली, पूर्णिमा जीएम लगायतको छ। चार दिनअघि युट्युबबाट सार्वजनिक गीत संगीत सेक्सनको दोस्रो नम्बर ट्रेन्डिङमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।