फाइल तस्बिर।
काठमाडौं– नेपाली कांग्रेसले आगामी वैशाख १० गते चितवन–२ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई दलको पत्र दिने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।
शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
साथै, उक्त उपनिर्वाचनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय पनि गरिएको छ।
‘उक्त उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगमा नेपाली कांग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ’, बैठकको निर्णयमा भनिएको छ।
चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विवाद मुद्दामा सर्वोच्च अदालतको फैसलापछि सांसद गुमाएकाले वैशाख १० मा उपनिर्वाचन तय भएको छ।
बैठकले नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा चन्द्रकान्त भण्डारी, प्रतिनिधि सभाका सदस्यद्वय मनोरमा शेरचन र विनाकुमारी थनेतको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
यी हुन् कांग्रेस बैठकका निर्णय :


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।