काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनित भएकी छन्।
श्रेष्ठलाई सल्लाहकारमा मनोनयन गरिएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए।
अभिनेत्री श्रेष्ठ डेढ दशकदेखि नेपाली चलचित्रमा सक्रिय छिन्। आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म निफको छैटौं संस्करण हुँदैछ।
यस वर्ष निफमा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ।
‘निफ’मा एक दर्जन जति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने अध्यक्ष पाठकले बताए। ‘यी सबै कार्यक्रममा सल्लाहकारको हैसियतमा अभिनेत्री श्रेष्ठको सक्रियता रहने हामीले विश्वास लिएका छौं,’ पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
निफको प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक निर शाह छन् भने अभिनेता सुनिल थापा, निर्देशक छिरिङ रितार शेर्पा र भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार सल्लाहकार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।