काठमाडौं– इन्ट्रानेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन हुने भएको छ।
यी दुवै कार्यक्रमहरुको फिल्ड अडिसन नेपालको विभिन्न सहरसँगै इन्डियाको सिलिगुडीमा हुने भएको हो। जसअनुसार नेपालगन्जमा फागुन ६ गते, बुटवलमा फागुन १० गते, सिलिगुडीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमाडौंमा फागुन २७ र २८ गते हुनेछ।
अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने आयोजकले जनाएको छ। फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरु काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन्।
साथसाथै देश विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्ने बताइएको छ। डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ।
त्यस बाहेक ‘मेरो डान्स यूनिभर्स’को संस्कृतिक समूह विधामा सहभागी हुन चाहानेले पनि एपमार्फत् अडिसन दिन सक्नेछन्। सांस्कृतिक समूहमार्फत् सहभागी हुनेले भने फिल्ड अडिसनमा उपस्थित हुन पर्नेछैन। डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्नेछ।
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भने, ‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ। हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दु:खमा परेकाहरूलाई मद्दत गर्नुमा छ। फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।