मेलबर्न– नेपथ्यलाई अस्ट्रेलियाको मेलबर्नमा भव्य स्वागत गरिएको छ। लोकरक ब्याण्ड नेपथ्यको यसवर्ष जारी अष्ट्रेलिया श्रृंखला अन्तर्गत मेलबर्नको कन्सर्ट आत्मीय वातावरणमा सोमबार सम्पन्न भएको हो।
कन्सर्ट सुरुहुनुभन्दा झण्डै एक घण्टा अगावै नै ‘फोरम’ भरिभराउ भइसकेको थियो। ‘स्टेट थिएटर’का रुपमा समेत चिनिने ‘फोरम’ आफैंमा मेलबर्नको ऐतिहासिकता बोकेको सम्पदा हो। सय वर्षअघि डिजाइन गरिएको यो विशिष्ट हल उतिबेला सिनेमा देखाउनका निम्ति निर्माण गरिएको भएता पनि हाल ‘कन्सर्ट हल’को रुपमा विकास गरिएको हो।
यही हलमा सोमबार कन्सर्ट सुरुहुने बित्तिकै नेपथ्यले अघिल्ला प्रस्तुतिहरुभन्दा बेग्लै सिर्जनाबाट थालनी गरेको थियो। प्रेम दिवस (भ्यालेन्टाइन्स डे)को पूर्वसन्ध्यामा आयोजित कन्सर्ट भएकाले मेलबर्नको सुरुआत नेपथ्यले ‘मेरो हजुर’ म्यूजिक भिडियोबाट गरेको थियो। त्यसको केहीबेरमै मञ्चमा उपस्थित भएका ब्याण्डका सदस्यहरुले उनीहरुको सबैभन्दा पुरानो गीत ‘आँगनैभरि हिऊनै झरे’ गीतबाट कार्यक्रमको थालनी गरेका थिए। त्यसपछि क्रमशः ‘छेक्यो छेक्यो’, ‘भेँडाको ऊनजस्तो’ र ‘लामपाते सुरती’ले निरन्तरता पाएको थियो।
त्यसपछि गितारको धुनलाई समात्दै भएभरका दर्शकहरुले गाउन थाले ‘जोगले हुन्छ भेँट, मायाले हुन्छ सम्झना’। मञ्च र दर्शकदीर्घा एकाकार भएको यो दृश्य र आवाजले सिँगो हलको वातावरण आत्मीय बन्न पुग्यो।
कार्यक्रममा नेपाल र अष्ट्रेलियामा बसिरहेका मनहरुलाई जोड्ने हिसाबले सँधैझैँ गायक अमृत गुरुङले आफ्ना अनुभव र निष्कर्षहरु सुनाएका थिए।
नेपथ्यलाई यसरी मेलबर्नमा प्रस्तुत गर्न पाउनु आफ्नो निम्ति अहोभाग्य भएको आयोजक टोलीका सुमन पराजुलीले उल्लेख गरे। कन्सर्टमा सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
नेपथ्यले यस वर्षको अष्ट्रेलिया श्रृंखला अन्तर्गत यो सातौं कन्सर्ट सम्पन्न गरेपछि अब अन्तिम प्रस्तुतिका लागि अष्ट्रेलियाकै पुछारतर्फको टापु तास्मानियाको होबार्ट यात्रा गर्नेछ। त्यहाँस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबार अन्तिम प्रस्तुति दिएर ब्याण्ड फेरि मेलबर्न हुँदै स्वदेश फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।