काठमाडौं – मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले रजत पदक जितेकी छन् ।
ननिताले आइतबार महिला १६० सेन्टीमिटर उचाईमा रजत जितेकी हुन्। फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले स्वर्ण जित्दा इटालीले कांस्यमा चित्त बुझायो ।
खेल्न सुरु गरेको छोटो अवधिमा ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोश्रो अवसर हो । गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौं संस्करणमा ननिताले ऐतिहासिक कांस्य जितेकी थिइन् । त्यो कांस्य पदक नेपाली शारीरिक सुगठनको इतिहासमा कुनैपनि नेपाली महिला खेलाडीले जितेको पहिलो पदक थियो ।
बडी बिल्डर आमा
आमा बनेपछि शारिरीक सौन्दर्य गुम्छ भन्ने मानसिकता धेरै महिलामा हुन्छ । हुन पनि आमा बनेपछि महिलाको शरीरको स्वरुप स्वभावतः परिवर्तन भएको पाइन्छ । बच्चा जन्माउने र हुर्काउने अभिभाराले महिलालाई आफ्नो शरीरको ख्याल गर्ने फुर्सद समेत हुँदैन । तर, बच्चा जन्मिएपछि आफ्नो शरीर पुरानो अवस्थामा कहिल्यै फर्किन सक्दैन भनेर निराश हुने महिलाका लागि ननिता महर्जन उदाहरण भएकी छिन् ।
कीर्तिपुरकी ननिताले छोराकी आमा भएपछि आफ्नो ज्यान आकर्षक मात्रै बनाइनन्, बडीबिल्डिङतर्फ एकपछि अर्काे सफलता चुमिरहेकी छिन् ।
उनले विश्वफिजिक्स स्पोर्टर्स महासंघले थाइल्यान्डमा आयोजना गरेको आठौं विश्व शारीरिक सुगठन प्रतियोगितामा महिलातर्फ कास्य पदक जितिन् । उनी ५६ देशका प्रतिस्पर्धीमध्ये तेस्रो भइन् । त्यसअघि गत भदौमा नेपालमै भएको महिला बडीबिल्डिङ प्रतियोगितामा उनी च्याम्पियन बनेकी थिइन् ।
ननिताले आमा बनेपछि पनि यति आकर्षक शरीर कसरी बनाइन् त ? सात वर्षीय छोराकी आमा ननिताले भनिन्, ‘जिमखाना धाउन थालेको ३ वर्ष भयो । तर, सुरुको एक वर्ष मैले जुम्बा र एरोबिक्स मात्रै गरेँ । मेरो शरीर व्यायाम र खानाको सन्तुलनले नै बनेको हो ।’
अहिले ५६ किलो तौल कायम गरेकी ननिता तीन वर्षअघि ७१ किलोकी थिइन् ।मोटोपनले उनलाई हैरान बनाएको थियो भने अनेकथरि स्वास्थ्य समस्याले पनि घेर्न थालिसकेको थियो । माइग्रेन उनका लागि अर्को समस्या थियो ।
उनी तीन वर्षअघि फर्किइन्, ‘हप्ताको एकदिन टाउको दुखिहाल्ने । त्यो पनि खप्नै नसक्ने गरी । डाक्टरकोमा गयो, नदुख्ने औषधी खायो । तर,समस्याजस्ताको तस्तै ।’ निरन्तर समस्या लिएर आइरहने भएपछि उपचारमा संलग्न डाक्टरले पनि उनलाई जीवनभर माइग्रेनकोऔषधि खानुपर्ने बताए । डाक्टरका कुराले उनको टाउको झन् दुख्यो ।
माइग्रेन मात्र थिएन समस्या ।ढाड र खुट्टाको जोर्नीको दुखाइले पनि आजित बनाएको थियो उनलाई ।ननिताले सम्झिइन्, ‘श्रीमान्लाई व्यवसायमा सघाउने क्रममा एक घन्टा जति उभिएर काम गर्नुपर्दा ढाड र खुट्टा दुखेर हैरान हुन्थेँ ।’मोटो ज्यान र स्वास्थ्यमासमस्या देखिन थालेपछि श्रीमान् रुदन महर्जनले उनलाई फिटनेस सेन्टर जाने सल्लाह दिए ।
भनिन्, ‘पहिलादेखि नै खेलकुदमा रुची थियो, फिटनेस क्लब जाने कुरा मुनासिब लाग्यो ।’ त्यही निर्णय उनका लागि बरदान साबित भयो । निरन्तर जिम जान थालेपछि माइग्रेन मात्र होइन ढाड र खुट्टाको दुखाइ समेत छुमन्तर भयो ।
जिमले उनलाई त्यतिमात्र होइन ३१ वर्षे उमेरमा जीवनको कुनै घडीमा कल्पना नगरेको क्षेत्रबाट सेलिब्रिटी बनायो । उनले खुसी हुँदै सुनाइन्, ‘अहिले बधाइको ओइरो लागेको छ । कतिले त तपाईं हाम्रो रोलमोडल हो समेत भनेका छन् ।’
यो सफलता उनले सानो मिहिनेत र योगदानले आर्जन गरेकी होइनन् । सानो छोरालाई दिने समय कटाएर फिटनेस सेन्टर धाउनु एउटी आमाका लागि चानचुने कुरा थिएन ।
उसो त, उनकोपरिवारको साथ–सहयोगले पनि उनलाई ऊर्जा मिलेको छ । बुहारीको भावना बुझेर घरायसी काममा सासुले नसघाएको भए, दैनिक जिम धाउने श्रीमतीको मन श्रीमान्ले नबुझेको भए र शरीर प्रदर्शन गर्ने खेललाई आफन्त–छरछिमेकीले नपचाएको भए ननिताको पोल्टामा अहिलेको खुशी सायदै पर्ने थियो ।
जिममा पसिना बगाउँदा र खानेकुरामा बार लगाउँदा उनलाई निकै सकस परेको थियो । कुनै समय खानाकी पारखी ननिताले भनिन्, ‘जिम गुरुले दिएको ‘मेन्यु’ अनुसार खानुपर्दा धेरै परिकार ‘मिस’ गरेँ ।’ खानपान संस्कृतिको धनी नेवार समुदायकी यी चेलीले चिल्लो, गुलियो, साँधेको, तारेको सबै खानेकुरा छाड्नुप¥यो ।
घर बाहिरको खानपानमा पूर्ण बन्देज लाग्यो । खानेकुराको अनुशासनमा बस्नु पर्दाको क्षण सम्झिँदै उनले भनिन्, ‘धेरै समय त बिहान–बेलुकाको भात–दाल–तरकारी सम्झेर तनाब हुन्थ्यो । खाइदिई हालौँ कि जस्तो हुने । अझ मःमः र चाउमिन भुल्न त धेरै गाह्रो प¥यो । अहिले त उसिनेको खानेकुराको रेसिपीमा अभ्यस्त भइसकेँ ।’
आमा बनेपछि मोटो ज्यान लिएर बस्ने धेरै महिलालाई सचेत गराउँदै ननिताले भनिन्, ‘ज्यान बनाउँछु वा घटाउँछु भन्नेहरु चिप्लिने भनेकै खानपानको मामलामा हो। क्यालोरी बढी लिने तर एक्सरसाइज फिटिक्कै नगर्ने हो भने त ज्यान घट्दै घट्दैन?’
बच्चा भएका अरु महिलालेननिताकै जस्तो ज्यान बनाउन सक्छन् त?
उनी भन्छिन्,‘मान्छेपिच्छे शरीरको बनोट फरक हुन्छ । ज्यानमा रहेको अनावश्यक बोसो घटाएर फिट र स्वस्थ रहने हो ।शरीरको बनोट प्रकृतिले दिने कुरा हो नि, हामीले त मिहिनेत गरेर फुर्तिलो र स्वस्थ राख्नु पर्छ । आफ्नो स्वास्थ्यका लागि ठूलो कुरा त्यही हो ।’
बच्चा भएपछि शरीर घटेन भनेर चिन्ता लिने महिलाले ननिताबाट सिक्नुपर्ने कुरा हो, ‘स्वादे जिब्रोलाई काबुमा राख्नु । नियमित एक्सरसाइज गर्नु र खानपानको सन्तुलन मिलाउनु ।’
ननिताको तीनवर्षे यात्राले भन्छ,‘प्रत्येक दिन१ घण्टाएक्सरसाइजका लागि छुट्याउनुहोस् । अनि मोटोपनले निम्त्याउने विभिन्न समस्याका लागि औषधिमा गरिने खर्च डाइटमा लगाउनुहोस् ।’
ननिताले सफलता पाउनुमा उनको आफ्नै एउटा बानी छ, लागेपछि लागिरहने ।
उनको खेलप्रति रुची विद्यालय तहदेखि सुरु भएको हो । स्कुल र कलेजमा भलिबल, बास्केटबल र एथ्लेटिक्समा उनी भाग लिइहाल्थिन् । त्यसमा पनि भलिबलमा विशेष रुची। भनिन्, ‘भलिबलमा क्षेत्रीय स्तरसम्म खेलेँ । कहिल्यै हारेर फर्किनँ ।’
बडी बिल्डिङमा महिलातर्फ नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाउने ननिता पहिलो हुन् । उनले दृढ भएर भनिन्, ‘मेरो लक्ष्य अब विश्व शारीरिक सुगठन प्रतियोगितामा अर्को वर्ष प्रथम हुनु हो ।’ ननिताको लगन, मिहिनेत र अनुशासनले पक्कै पनि अर्को ठूला सफलता चुम्न सघाउने नै छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।