काठमाडौं- शनिबार देशका चार प्रदेशमा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
यस्तै, तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जनाएको छ। एक-दुई स्थानहरूमा लागेको हुस्सु मध्यान्नसम्म क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ।
आइतबार पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा आइतबार पनि हल्का हिमपातको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।