प्रहरीको कुटपिटविरुद्ध ट्रमा सेन्टरमा प्रदर्शन गर्दै चिकित्सकहरू। काठमाडौं- प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा जनिथलाल सिंह घाइते भएका छन्।
शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको यात्राको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उनी घाइते भएका हुन्।
संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।
उनको टाउकोमा चोट लागेको छ। सोही घटनाको विरोधमा त्यहाँका चिकित्सकहरुले प्रर्दशन गरेका छन्।
ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरुले प्रर्दशन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो भने अतिव्यस्त सो सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो।
घटनापछि ट्रमा सेन्टरको गेटमा बसेर चिकित्सकहरुले प्रहरीको विरोधमा प्रर्दशन गरिरहेका छन। यता, घटनाबारे जानकारी लिन वीर अस्पताल व्यवस्थापन र प्रहरी अधिकारीहरुबीच छलफल भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।