काठमाडौं– अभिनेता प्रदीप खड्का अब छिट्टै नयाँ चलचित्र कामिनोको छायांकनका लागि व्यस्त हुँदैछन्। निर्माण टिमले केही समय अघि थिम पोस्टर सार्वजनिक गर्दै फिल्म प्रदीपको मुख्य भुमिकामा बन्न लागेको घोषणा गरेको थियो।
बिहीबार बिहान प्रदीपले कामिनोको थिम पोस्टर सार्वजनिक गर्दै आफूले चलचित्रमा काम गर्न लागेको घोषणाका साथ स्क्रिप्ट लकपछि ग्रहशान्ति पूजा समेत गरेको तस्विर पनि सार्वजनिक गरे।
प्रदीपले भारतको मुम्बईस्थित नासिक ताम्रकेश्वर मन्दिरमा ग्रहशान्ति तथा आगामी कामको सफलताको लागि पूजाआजा गरेको उनका प्रेस सल्लाहकार रामजी ज्ञवालीले बताए ।
उनले भने, ‘स्क्रिप्ट सम्पादन र हेरफेरको लगभग काम सकिएको छ। भारतमा केही प्रोजेक्टको मिटिङका लागि जानुभएको थियो। यता कामिनो छायांकनमा जानुअघि उहाँले भारतमा पुजाआजा समेत गर्नुभएको हो।’
कृष्णलीला फेम्ड निर्देशक दीपक वलीको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई ब्राजिल र मेक्सिकोमा छायांकन गर्ने निर्माण टिमको तयारी छ।
चलचित्र कहिले छायांकनमा जान्छ त्यो भने अहिलेसम्म टुंगो लागिसकेको छैन। दक्षिण अमेरिकी मुलुक हुँदै जोखिम लिएर अमेरिका छिर्ने आप्रवासीको कथावस्तुमा यो चलचित्र बन्न लागेको हो। चलचित्रलाई नेपाली, अंग्रेजी, हिन्दी र स्पेनी भाषामा समेत डविङ गर्नेगरी काम भइरहेको बुझिएको छ।
प्रदीपले निर्देशक दिनेश राउतको चलचित्रमाकाम गर्ने मौखिक सहमती जनाएका छन् भने अन्य केही चलचित्रका स्क्रिप्ट पढिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।