काठमाडौं– नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि ‘विकास फर्स्ट विकास आयोजनाको कार्यान्वयन फर्स्ट’ संकल्पसहित कानुन निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पाण्डेले विकास निर्माणको आयोजना प्रभावकारी कार्यान्वयनका लागि उक्त संकल्पसहित कानुन निर्माण गर्न अनुरोध गरेका हुन्।
उनले भने, ‘एकीकृत विकास प्रणाली अवसधारणामा ‘विकास फर्स्ट विकास आयोजनाको कार्यान्वयन फर्स्ट’ भन्ने संकल्प गर्न र सो अनुसारको कानुन निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।’
उनले अनगिन्ती आकांक्षा र आवश्यकताको चाङमा खडा भएको अविकसित देशले भौतिक पूर्वाधारको क्षेत्रमा फड्को मार्नु अहिलेको आवश्यकता रहेको बताए। ‘युद्धस्तरमा विकास र समृद्धिको लक्ष्य पूरा गर्नुपर्ने छ। तर देश भरी सञ्चालित आयोजनाहरु सम्पन्न भइरहेका छैनन्,’ उनले भने, ‘जसका कारण लाभग्राहीमा निराशा छाउने, रोजगारीको अवस्थामा शिथिलता आउने र अर्थतन्त्रका समग्र सूचक नकारात्मक हुने नियती भोगिरहेका छौं।’
सांसद पाण्डेले आयोजनास्थल भित्रका विभिन्न पक्षहरुको नकारात्मक प्रवृत्ति र भूमिकाको कारणले विकासको कामले फड्को मार्न नसकेको बताए। उनले अहिलेको जटिलताबाट मुक्ति पाउनका लागि सरोकारवाला पक्षसँग प्रभावकारी समन्वयको सुनिश्चितता गर्नेगरी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।