काठमाडौं– बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्काशन गरेको छ।
कम्पनीले आइतबारदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण शेयर बिक्री खुला गरेको हो।
कम्पनीले प्रतिकित्ता एक सय अङ्कित दरमा नौ हजार सात सय कित्ता साधारण शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। निष्काशित शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी फागुन ८ गतेसम्म अधिकतम एक हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदको आवेदन दिन सकिन्छ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबद्र्धक मेगा क्यापिटल मार्केटस् लिमिटेड रहेको छ भने कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आईआर बीबी माइनस्’ प्रमाणपत्र प्रदान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।