काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामलाई सुन्दर र व्यवस्थित शहरका रूपमा विकास गर्न अभियान शुरु भइसकेको बताएका छन्।
जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै उनले जानकी मातासँग सम्बन्धित सबै संरचनाको पुनर्निर्माण र व्यवस्थापन गरिने बताएका हुन् ।
यसका लागि बजेटमा कुनै कन्जुसी नगरिएको उल्लेख गर्दै उनले जनकपुरधामको विकासका लागि पर्याप्त बजेट विनियोजन गरिएको दाबी गरे । उनले चालु आर्थिक वर्षको बजेटमा जनकपुरधामको सहरलाई सुन्दर र व्यवस्थित बनाउने योजनालाई प्राथमिकता दिइएको बताए । आगामी चैत–वैशाखसम्म जनकपुरधाममा उल्लेखनीय परिवर्तन देखिने उनको भनाइ छ । मन्त्री लम्सालले जनकपुरधामको विकासका लागि आवश्यक पूर्वाधारमा क्रमशः लगानी बढाउँदै लगिने पनि बताए ।
विवाहपञ्चमी महोत्सवलाई प्रवर्द्धन गर्न र उत्सवको रौनक बढाउन बजेट छुट्याउने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए । पर्यटन बोर्डमार्फत आवश्यक बजेट व्यवस्थापन गर्न सकिने उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई आवश्यक योजना र लागत विवरणसहित प्रस्ताव तयार पार्न आग्रह गरे ।
उनले भने, ‘समितिको खातामा आवश्यक बजेट उपलब्ध गराउने र पर्यटन बोर्डमार्फत पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरियो। आवश्यक कामको विवरण र बजेट योजना तयार गरी प्राविधिक टोलीसँग छलफल गर्ने सहमति भयो ।
जनकपुरधामलाई सुन्दर, व्यवस्थित र आकर्षक सहर बनाउने अभियान शुरु भइसकेको र चैत–वैशाखसम्म उल्लेखनीय परिवर्तन देखिने विश्वास व्यक्त गरियो । जानकी मातासँग सम्बन्धित सम्पदाहरूको पुनर्निर्माण तथा व्यवस्थापनलाई प्राथमिकता दिइने बताइयो । साथै, विवाह पञ्चमीलाई भव्य बनाउन संघीय सरकारबाट बजेट विनियोजन र प्रवर्द्धनका विषयमा पनि छलफल भइरहेको जानकारी दिइयो ।’
उनले प्राविधिकहरूसँग छलफल गरेर बजेट तथा कार्यक्रमको योजना बनाउन र विवाह पञ्चमीलाई भव्य रूपमा सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।