



काठमाडौ - धादिङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् ।
धादिङको रुबीभ्याली गाउँपालिका–४, कलदाङस्थित लापाबाट बोराङतर्फ जाँदै गरेको बा.प्र.०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो बाटोमा अनियन्त्रित भई करिब ४०० मिटर तल सडकमा खसेको हो ।
दुर्घटनामा बोलेरोमा सवार रुबीभ्याली गाउँपालिका–४, बोराङ बस्ने ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ३५ वर्षीया कान्छी माया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीया मिजोङ तामाङ, २० वर्षीय बिमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ रहेका छन् ।
त्यस्तै, बोलेरो चालक धादिङको खनियाबास गाउँपालिका–१ बस्ने ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ गौशाला बस्ने २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन् ।
घाइतेमध्ये आमोष तामाङ, मिजोङ तामाङ र चालक डम्बर तामाङको अवस्था गम्भीर रहेको छ । आमोष र चालक डम्बर बोल्न नसक्ने अवस्थामा रहेको विवरणमा उल्लेख छ । अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ ।
घाइते सबैलाई उपचारका लागि स्वास्थ्य चौकी बोराङ पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।