काठमाडौं– नवलपरासीका अर्जुन टमाटा कक्षा १० मा पढ्दै थिए। ज्याला मजदुरी बाहेक घरमा बा आमाको आयको स्रोत थिएन। ‘फि तिर्ने पैसा थिएन। दुई खाले फित्ता भएको चप्पल पनि चुडिँएर गाँस्नुपर्ने दिन थिए,’ अर्जुन सम्झन्छन्।
घरको जेठो सन्तान उनी। पारिवारिक जिम्मेवारी काँधमा थियो। युवाहरू भारत जाने चलन थियो गाउँमा। अर्जुनले पैसा कमाउन मुम्बई जाने सोच बनाए। मुम्बई जान उनलाई १४ सय आइसी (नेपाली २५ सय रुपैयाँ) आवश्यक परेको थियो। त्यो पैसा जुटाउन बुवाले ऋण खोजे।
तर ऋण कसैले पत्याएनन्।
‘ऋण नपाएपछि बहिनीको नाकको फुली बेचियो। त्यसपछि मुम्बई गएँ,’ उनी सुनाउँछन्।
मुम्बई हिँड्दा उनी १७ वर्षका थिए। मुम्बईमा न गाँस थियो, न वास। कति दिन समोसाको भरमा छाक र प्याजको बोरामा रात कटाए उनले।
उनले सुरुमा होटलमा भाँडा माझ्ने काम पाए। तलब थियो चार सय आइसी। त्यहीँबाट उनले संघर्षलाई जारी राखे।
कामसँगै अध्ययन पनि अगाडि बढाए। क्राफमेन्ट सेफ, कुकरी कुकिङ ट्रेनिङ लिँदै काम गरे अर्जुनले। मुम्बईमा होटल म्यानेजमेन्टमा ब्याचलरसम्मको पढाइ सके।
उनले मुम्बईमा २ लाख आइसी लगानी गरेर तीनओटा रेस्टुरेन्ट पनि खोले। १२ जना कामदार राखे। ‘ती रेस्टुरेन्टबाट राम्रो आम्दानी भइरहेको थियो। कामदारलाई तलब दिएर मासिक ९० हजार आइसीसम्म कमाइ हुन्थ्यो,’ उनी सुनाउँछन्।
एक पटक कामकै सिलसिलामा उनले बेलायत जाने योजना बनाए। त्यो क्रममा एक दलाल उनीबाट ६ लाख आइसी लिएर फरार भयाे। घटनाले उनलाई निकै समयसम्म दुःखी बनायो। एकपटक अर्जुनका कामदारले ग्राहकसँग अभद्र व्यवहार गरे। त्यसले घटनाले उनलाई कानुनी झमेलामा फसायो। त्यसपछि होटल छाडेर उनी ०६४ मा नेपाल फर्किए। फर्किएकै वर्ष काम गर्न दुबई उडे। काम होटल लाइनमा थियो।
मासिक २ लाख ५० हजार आम्दानी हुन्थ्यो त्यहाँ। चार वर्ष काम गरेपछि उनले आफ्नै रेस्टुरेन्ट खोले। त्यहाँ पनि राम्रो कमाइ थियो।
फेरि उनलाई विदेश बस्न मन लागेन। ०७० सालमा स्वदेश फर्किए।
नेपाल फर्केपछि काठमाडौंमा साथीहरूसँग समूहमा रेस्टुरेन्ट खोले। ठमेल, बालाजु, माछापोखरी र नेपालटारमा चारओटा रेस्टुरेन्ट खोलेका थिए उनीहरूले। रेस्टुरेन्टबाट राम्रै आम्दानी भएको थियो। विश्वभर फैलिएको कोभिड–१९ ले गर्दा रेस्टुरेन्ट बन्द हुने अवस्था आयो।
‘६ महिनासम्म त कामदारलाई तलब दिएर राखियो। त्यसपछि त दिन सकिएन। रेस्टुरेन्ट नै बन्द गरियो,’ उनी सुनाउँछन्। त्यतिबेला ४० लाख घाटा भएको सम्झन्छन् अर्जुन।
एउटा बालाजुको रेस्टुरेन्ट बाँकी थियो। त्यस रेस्टुरेन्टले केही समय व्यवसाय धान्यो।
त्यसपछि उनले फरक तरिकाले व्यवसाय गर्ने सोच बनाए। नेपालमा रातको समयमा खानाको डेलिभरी कम्पनी खासै थिएनन्। रातमा पनि खाना डेलिभरी गर्न आवश्यक छ भन्ने लाग्यो उनलाई। उनले दुई वर्ष अघि २० लाख लगानीमा बालाजुमा ‘भोजन नेपाल’ फुड डेलिभरी कम्पनी खोले।
नेपालमा पाउने मौलिक परम्परा अनुसारका खाना तथा खाजा बनाएर डेलिभरी गर्ने उद्देश्यले कम्पनीको नाम ‘भोजन नेपाल’ राखे। परम्परागत खाना, नेवारी थकाली खाना ढिँडो, गुन्द्रुकदेखि पिज्जा बर्गरसम्मका भेज तथा ननभेज आइटम यसमा पर्थे।
त्यसपछि उनले फुड डेलीभरी गर्ने, खाना बनाउने गरी १२ जना कामदार राखे। सुरुवातको समयमा चलेन व्यवसाय। पछि भोजन नेपालको फेसबुक पेज बनाए। इन्स्टामा भोजन नेपाल नाम राखे। त्यसपछि मान्छेहरूले भोजन नेपालबाट खाना, खाजा अर्डर गर्न थाले।
५ महिना जति कठिन भयो। त्यसपछि अर्डर आउन थाले।
अहिले उनले भोजन नेपालको शाखा बानेश्वरमा खोलेका छन्। अहिले काठमाडौं, भक्तपुर, ललितपुर तीनओटै जिल्लामा फुड डेलिभरी हुन्छ। रातको समयमा २० देखि ६० मिनेट लाग्ने ठाउँसम्म फुड पुर्याउने गरेको अर्जुन बताउँछन्।
भविष्यमा नेपालभरि नै यसका शाखा खोल्ने योजना छ उनको।
भोजन नेपालको विशेष खाना मटन विर्यानी हो। साथै अर्डर अनुसार बर्गर, पिज्जा, मम, छोइला लगायतका नेवारी तथा थकाली खाना डेलिभर गर्ने गरिन्छ।
भोजन नेपालको व्यवसाय फस्टाएको देखेर उनी सन्तुष्ट छन्।
‘दिन र रातमा ६० देखि ८० ओटासम्म खाना तथा खाजाको अर्डर आउँछ। स्टाफलाई तलब दिएर डेढ लाख घट्दैन,’ उनी भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।