काठमाडौं– ३ दिने नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आज (शुक्रबार) उच्चस्तरीय भेटवार्तामा सहभागी हुने भएका छन्।
मलेसियन गृहमन्त्री इस्माइलले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
गृहमन्त्री इस्माइलले मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्रान’बारे छलफल गर्ने जनाइएको छ।
मलेसियन सरकारले आप्रवासी कामदारका लागि हालै सहज भर्ना प्रक्रिया र पुन: क्यालिब्रेसन कार्यक्रम ल्याएको छ। सोही कार्यक्रमका विषयमा छलफल गर्न गृहमन्त्री इस्माइल सहितको टोली नेपाल भ्रमणमा आएको हो।
कोभिडको विश्वव्यापी महामारीपछि आर्थिक गतिविधि बढेसँगै मलेसियाले यो वर्ष ५ लाख कामदार भित्र्याउने घोषणा गरेको छ।
कामदार सहज भर्ना प्रक्रिया कार्यक्रमअन्तर्गत मलेसिया सरकारले आप्रवासी कामदारको सहज भर्ना, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको विषयमा उचित व्यवस्थापन गर्ने तयारी गरेको छ। यस्तै, पुन: क्यालिब्रेसन कार्यक्रमअन्तर्गत मलेसियामा गैरकानुन रुपमा रहेका आप्रवासी कामदारले पुन: वैधानिक हुने अवसर पाउनेछन्। गैरकानुनी रुपमा बस्दै आएका कामदारले पुन: वैधानिक भएको अवस्थामा वैधानिक कामदारसरह पारिश्रमिक तथा सेवा–सुविधा पाउनेछन्।
बिहीबार बेलुका काठमाडौं उत्रिएका इस्माइल शनिबार बंगलादेश जाने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।