तस्बिरहरू: लबेश श्रेष्ठ ब्रिसबेन– अष्ट्रेलियाको ब्रिसबेनमा नेपथ्य फेरि घन्किएको छ। ब्रिसबेनको भब्य ‘फोर्टिच्यूड म्यूजिक हल’मा सोमबार बेलुका नेपथ्यको कन्सर्ट भयो।
‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरी मर्यो’, ‘जोमसोमे बजारमा’जस्ता एकपछि अर्को सर्वकालीक हिट गीतहरु प्रस्तुत गर्दागर्दै नेपथ्यका अगुवा गायक अमृत भनिरहेका थिए, ‘हाम्रा लोकगीतहरुले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भीर सन्देश र दर्शनहरु पनि बोकेका हुन्छन्।’
कन्सर्ट अवधिमा उनले विदेशमा सबै नेपालीहरु मिलेर बस्न र आइपरेका बेला एकले अर्कालाई साथ दिन अनुरोध पनि गरे।
अघिल्ला कन्सर्टहरुमा प्रस्तुत गरिएका गीतहरुको सेटलाई नै दोहोर्याइएको ब्रिसबेनको कन्सर्टमा पनि ‘यो जिन्दगानी’ गीत गाउने क्रममा सडक आश्रितहरुका दृश्य देखाइएको थियो। नेपालस्थित मानवसेवा आश्रमका आश्रितहरुको मनछुने दृश्य समेटेको त्यो भिडियोले धेरै दर्शकको मन छोएको देखिन्थ्यो।
त्यसैक्रममा अमृतले यो सिंगो वर्ष ब्याण्डलाई ‘मानवताको लागि संगीत’को निम्ति समर्पित गरेको उल्लेख गर्दै हालै यसै नाराका साथ नेपालभर गरिएको यात्राको स्मरण पनि गरे।

अष्ट्रेलियाको तेश्रो ठूलो सहरमा सोमबार आयोजित कन्सर्टसहित नेपथ्य यस स्थानमा पाँचौं पटक उभिन पुगेको छ। एक दशक अघिसम्म पनि मुस्किलले केही हजार जनामात्र नेपाली बसोबास गर्ने यो सहरलाई अध्ययन, रोजगारी तथा बसोबासका निम्ति छनौट गर्नेहरु विस्तारै राम्रै उपस्थितिमा परिणत हुन थालेको देख्न सकिन्छ।
‘यति भव्य रुपमा सम्पन्न कन्सर्टको हिस्सा बन्न पाएकोमा मेरो सम्पूर्ण टिम खुशीले गदगद भएको छ,’ स्थानीय आयोजक टोलीमध्येका सुनिल बस्नेतले भने, ‘दर्शकको उपस्थिति र अत्यन्त सकरात्मक प्रतिक्रियाले यो कार्यक्रमलाई भव्य र सभ्य बनाइदियो।’
अर्की दर्शक रिना मोक्तानले ब्रिसबेनमा आजसम्म हेरेका व्यवस्थित कन्सर्टहरु मध्येकै आफूलाई यो सबैभन्दा भव्य लागेको प्रतिक्रिया दिइन्। उनी परिवारका साथ आएकी थिइन्।
‘विदेशमा कार्यक्रम गर्दा सप्ताहान्त परेन भने दर्शक जुटाउन गाह्रो पर्छ भन्ने मान्यता निकै अघिदेखि चल्दै आएको थियो,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘ब्रिसबेनमा नेपाली मात्र होइन विदेशी दर्शकको पनि सोमबारका दिन भव्य उपस्थितिले त्यो पुरानो मान्यतालाई पनि तोडिदिएको छ।’
ब्याण्ड र व्यवस्थापनको १३ सदस्यीय टोलीमध्ये मञ्चमा भने गायक अमृतलाई सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

ब्रिसबेनको प्रस्तुतिसँगै नेपथ्यले अष्ट्रेलियामा यो वर्षका निम्ति प्रस्तावित आठमध्ये तेश्रो शो सम्पन्न गरेको छ।
टोलीले अबको यात्रा क्यानबेरातर्फ गर्नेछ, जहाँ फेब्रुअरीको ३ तारिख फेरि नेपथ्य घन्किने छ। अष्ट्रेलियाको केन्द्रीय राजधानी यो सहरमा नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको हो। त्यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा शो आयोजना हुँदैछ।
त्यसपछि ब्याण्ड पर्थको ‘मेट्रो सिटी हल’, सिड्नीको ‘होडर्न पभिलियन’, मेलबर्नको ‘फोरम’हुँदै अन्तिममा अष्ट्रेलियाकै पुछारतर्फ लाग्नेछ। बेग्लै टापुमा बसेको राज्य तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन यसपटक अष्ट्रेलिया यात्राकै अन्तिम प्रस्तुति दिने नेपथ्यले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।