काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरणलाई सहज बनाउनका लागि प्रत्येक दिन १ हजार ५०० का दरले अग्रिम अनलाइन आवेदेन (प्रि–इन्रोलमेन्ट) फाराम खोल्ने भएको छ। हाल कायम रहेको व्यवस्थाले धेरै सेवाग्राहीले फाराम भर्न समस्या भइरहेको भन्ने गुनासो गरेपछि विभागले माघ १६ गतेदेखि १ महिनाका लागि प्रत्येक दिन १ हजार ५०० दरले अग्रिम अनलाइन आवेदन फाराम खोल्ने निर्णय गरेको हो।
विभागले त्यसपछि पनि प्रत्येक दिन १ महिना पछिको थप १ दिनका लागि आवेदन फाराम क्रमशः खोल्दै जाने पनि जनाएको छ। अनलाइन फाराम सिद्धिन लागेको देखिएमा पुनः एक महिनाका लागि फाराम खोल्ने र यस व्यवस्थालाई निरन्तरता दिने विभागले जनाएको छ। यसरी अग्रिम अनलाइन फाराम खोल्दा सेवाग्राहीले समयमा नै योजना गरी राहदानी सेवा लिने विभागको अपेक्षा छ।
हाल जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट छिटो राहदानी पाउने व्यवस्थाका लागि विभागमा डाटा प्राप्त भएको मितिले नजिकका जिल्लाहरूमा १० दिनदेखि १२ दिनभित्र, तराईका जिल्लाहरूमा १२ दिनदेखि १५ दिनभित्र, पहाडका सुगम जिल्लाहरूमा १५ देखि २० दिनभित्र, हिमाली जिल्लाहरूमा २० देखि ३० दिनभित्र र विदेशस्थित नेपाली नियोगहरूमा २० देखि ३५ दिनभित्र राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।
हाल ७७ वटा जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय र ३८ वटा विदेशस्थित नेपाली नियोगहरूबाट विद्युतीय राहदानी जारी भइरहेको विभागले जनाएको छ।
विभागले हाल दैनिक करिब ६ हजार थान राहदानी छपाइ भइरहेको जनाएको छ। विभागबाट मात्र पनि प्रत्येक दिन १ हजार ८०० जनाको आवेदन लिने गरिएको निर्देशक डमरुबल्लभ पौडेलले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।