काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले सञ्चारमाध्यमले आफ्नो बिरुद्धका मात्रै समाचार प्रकाशन/प्रसारण गरेको गुनासो गरेकी छन्।
शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले राज्यमन्त्री कार्कीलाई बधाई ज्ञापन गर्न मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले यस्तो आशय व्यक्त गरेकी हुन्।
राज्यमन्त्री कार्कीले सिटी स्क्यान, एमआरआईका लागि आवश्यक सामग्रीका विषयमा आफूले कुरा उठाएपनि त्यसको समाचार नबनेको तर, रिबन काटेको समाचारलाई प्राथमिकता दिएको गुनासो गरिन्।
माघको पहिलो साता वीर अस्पतालले सुरु गरेको ल्याब सेवाको स्वास्थ्यमन्त्री र स्वास्थ्य राज्यमन्त्रीले संयुक्त उद्घाटन गरेका थिए।
मन्त्री र राज्यमन्त्रीले एकै ठाउँमा राखिएका दुई वटा अलग–अलग रिबन काटेसँगै सामाजिक सञ्जालमा त्यसको बिरोध भएको थियो।
मन्त्री कार्कीले गत मंगलबार संसद् भवनबाहिर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई आईसीयूमा भेट्न जाँदा आफूले कुनैपनि स्वास्थ्यको प्रोटोकल नमिचेको पनि दाबी गरिन्। आचार्यलाई भेट्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै मन्त्री कार्कीले स्वास्थ्यका प्रोटोकलको पूर्ण पालना नगरेको भन्दै बिरोध भएको थियो। तर, उनले अस्पतालमा हुँदा कुनैपनि स्वास्थ्यका नियमहरु नतोडेको दाबी गरिन्।
राज्यमन्त्री कार्कीले कुनैपनि नागरिकले आर्थिक स्थिति कमजोर भएकै कारणले स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनुनपर्ने गरी काम गर्नेपनि प्रतिवद्धता जनाइन्। उनले बीमालाई वैज्ञानिक ढंगबाट विस्तार र लक्षित वर्गमा पुर्याउने गरी काम गरिरहेको बताइन्।
स्वास्थ्य सेवालाई चुस्त बनाउन एकीकृत एम्बुलेन्स कार्ययोजना अघि बढाइरहेको राज्यमन्त्री कार्कीले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।