काठमाडौं– नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङ प्रकरणमा प्रहरीले २ जना क्रिकेटरलाई नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान अन्तर्गत २ जना क्रिकेटरलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आदिल अन्सारी र पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नियन्त्रणमा लिएको हो। आदिललाई सप्तरीबाट नियन्त्रणमा लिइएको हो। यस्तै, मेहबुबलाई मोरङ, विराटनगरबाट नियन्त्रणमा लिइएको सीआईबी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
‘अनुसन्धानका क्रममा स्पट फिक्सिङका केही विषयमा उनीहरुको संलग्नता देखिएकाले नियन्त्रणमा लिइएको हो,’ सीआईबी स्रोतले भन्यो।
स्रोतका अनुसार स्पट फिक्सिङका लागि उनीहरुलाई ‘पहिलो प्रस्ताव’ आएको देखिएको छ।
प्रहरी नियन्त्रणमा रहेका आदिल अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा छन्। यस्तै, मेहबुब जिल्ला प्रहरी कार्यालय मोरङमा छन्।
‘दुवै जनालाई जहाजमार्फत् काठमाडौं ल्याउने तयारी भइरहेको छ। काठमाडौं, सीआईबीमा ल्याएर हिरासतमा राखेर केही दिन अनुसन्धान तथा सोधपुछ हुन्छ,’ स्रोतले भन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।