निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरुसँग छलफल एवं परामर्श सुरु गरेको हो ।
आयोगले आज नै विभिन्न राजनीतिक दलहरुसँग छलफल सुरु गर्ने भएको जनाएको छ । सो प्रयोजनका लागि राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरुलाई आज आयोगले छलफलका लागि आमन्त्रण गरेको छ ।
आयोगले आज बिहान ११:३० बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आजका लागि राजनीतिक दलहरुलाई छलफलमा बोलाइएको जानकारी दिए।
प्रवक्ता भट्टराईले भने, “स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उहाँहरुलाई आयोगमा आमन्त्रण गरिएको हो ।”
राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई आज छलफलका लागि आयोगमा आमन्त्रण गरिएको उनले बताए। स्थानीय एवं प्रदेश तहको निर्वाचनका सन्दर्भमा आयोगमा आज ती राजनीतिक दलका प्रतिनिधिहरुसँग आवश्यक परामर्श एवं छलफल हुने भएको हो ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।