काठमाडौं– नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले एउटै जिल्ला र एउटै स्थानीय तहका प्रतिनिधिलाई सत्ता गठबन्धनले सभामुख र उपसभामुखमा उठाएको भन्दै आलोचना गरे।
उनले सभामुख र उपसभामुख एउटै तहबाट गर्न खोजिएको भन्दै भौगोलिक भिन्नताका लागि पनि कांग्रेसका उम्मेदवारलाई मत दिन अनुरोध गरे।
उपसभामुख चयनका लागि चलिरहेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले कांग्रेसले अघि सारेको उम्मेदवार मुक्ताकुमारी यादवलाई मत दिन अनुरोध गरे।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उच्चस्तरीय राजनीतिक संयन्त्रका नाममा गैर संवैधानिक अभ्यास सुरु भएको आरोप लगाए।
उनले प्रतिनिधि सभाको पहिलो बैठककै एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटनको बचाउ गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभन्दा आफू माथि देखाउन संयन्त्रको अध्यक्ष बनेको दाबी गरे।
संसद्को सभामुखलाई पाइलटको रुपमा हेर्नुपर्ने र को–पाइलट उपसभामुख भएकाले फरक दलको हुनुपर्ने उनले बताए। उप–सभामुख भौगोलिक रुपमा पनि फरक हुनुपर्ने भन्दै सभामुखको जिल्ला र नगरपालिका एउटै भएको सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन नहुने उनको भनाइ थियो।
उनले स्वतन्त्र पार्टीवाट उपसभामुखको उम्मेदवार रहेकी इन्दिरा रानालाई आफूले सम्मान गर्ने तर भूगोललाई पनि सम्मान गर्न अन्य सांसदहरुसँग माग गरे। उनले अहिलेको राजनीतिक व्यवस्थाप्रति प्रश्न उठिरहेको भन्दै निशा डाँगीदेखि पशुपति शमशेरसम्म यही संसद्मा रहेको स्मरण गराए।
उनले संसद्मा पुराना र नयाँ दल दुवै रहेकाले रचानात्मक बनाउनुपर्ने दायित्व रहेको बताए। उनले मन्त्री र प्रधानमन्त्री बन्न नभइ जनताको मुहारमा खुशी थप्न राजनीति गरेको दाबी गरे।
यस्तै उनले आफूहरु सत्तापक्ष नभइ प्रतिपक्षी भएको दाबी गरे। कांग्रेसले सरकारलाई विश्वासको मत मात्र दिएको तर समर्थन भने नगरेको स्मरण गराए। आफूहरुले दिएको विश्वासको मतको विश्वास घात भएको दिन कांग्रेसले सरकारको प्रतिरोध गर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।