काठमाडौं- प्रतिनिधि सभाको सभामुखका लागि आज (बिहीबार) निर्वाचन हुँदैछ। त्यसका लागि प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ।
सभामुखका लागि दुई सांसदको उम्मेदवारी दर्ता भएको छ। एमालेबाट देवराज घिमिरे र कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन्।
घिमिरेका प्रस्तावक सुवास नेम्वाङ र समर्थकहरु हितराज पाण्डे, राजेन्द्र लिङ्देन र रवि लामिछाने छन्। त्यस्तै, न्यौपानेको प्रस्तावक विश्वप्रकाश शर्मा र समर्थक प्रकाश ज्वाला छन्।
सभामुखका लागि दुई वटा उम्मेदवारी परेकाले प्रतिनिधि सभामा दस्तखतसहितको मत विभाजनद्वारा निर्णय हुनेछ। प्रतिनिधि सभा नियमावली अनुसार, उम्मेदवारी दर्ता क्रम अनुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ र त्यसपछि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
जुन प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन्छ, सो प्रस्तावमा प्रस्तावित सदस्य सभामुख निर्वाचित भएको मानिनेछ। बाँकी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छैन।
बुधबार दर्ता भएको उम्मेदवारीमा घिमिरे पहिलो नम्बरमा छन्। समर्थक दलहरुको आधारमा उनी नै सभामुख निर्वाचित हुने निश्चित प्रायः छ। उनको पक्षमा बहुमत पुगेपछि न्यौपानेका लागि मतदान हुनेछैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।