काठमाडौं– पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमान दुर्घटना हुनुअघि आकाशमा असहज अवस्थामा उडेको प्रत्यक्षदर्शीले बताएका छन्।
दुर्घटनास्थल नजिकै घर भएका प्रत्यक्षदर्शी बबरजङ्ग गुरुङले प्लेन हेर्दा–हेर्दै अर्कोतिर फर्केर उडेको आफूहरुले देखेको बताए।
‘हामी छतमा घाममा थियौं, हेर्दा–हेर्दै प्लेन फर्केको देखियो। अलि पर पुग्दा प्लेन भीरमा ठोकियो अनि पड्क्यो,’ उनले भने, ‘हाम्रो घर नजिकै सेती नदीको खोँचको डाँडामा पुगेर प्लेन बजारियो।’
उनले त्यसको असर घरको छेउछाउसम्म पुगेको बताए। ‘हामी बुढा–बुढी घरमा थियौं। हामीले प्रत्यक्ष रुपमा ठूलो आवाज सुन्यौं,’ उनले भने, ‘एकै छिनमा त आगो बलेको देखियो।’
यसरी आगो बलेको देखेपछि उद्धारका लागि स्थानीय, सुरक्षाकर्मी पुगेको र एकै छिनमा सडकमा एम्बुलेन्सहरु कराउन थालेको उनले बताए।
दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको छ। विमानमा चालक दलसहित ७२ जना सवार थिए। सेती नदीको खोँचमा खसेका कारण लामो समयसम्म आगो बलेको थियो। जसले गर्दा उद्धारमा निकै कठिनाई उत्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।