काठमाडौं– विमान दुर्घटना हुनभन्दा पहिला पाइलटले केही जानकारी नगराएको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले दुर्घटनापूर्व कुनै जानकारी नआएको बताए।
जहाजमा खराबी आएको अवस्थामा पाइलटले टावरलाई जानकारी गराउनुपर्दछ। तर पाइलटबाट कुनै पूर्व जानकारी नआएको उनले बताए।
‘मौसम पनि सफा थियो। पाइलटले पनि पूर्व जानकारी गराएका थिएनन्। कसरी दुर्घटना भयो भन्ने छानबिनबाट पत्ता लाग्ला’, ठाकुरले भने।
यति एअरलाइन्सको एन९–एएनसी एटीआर–७२ विमान पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान १०:५५ बजे दुर्घटना भएको थियो। उक्त विमान काठमाडौंबाट बिहान १०:३३ मा पोखराका लागि उडेको थियो। चालक दलका ४ सदस्यसहित विमानमा ७२ जना सवार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।