पोखरा– पोखराको सेती नदीको खोँचमा खसेर यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ।
विमान दुर्घटनामा पर्नुअघि पोखराको आकाशमा पटक–पटक घुमेको र हल्लिरहेको प्रत्यक्षदर्शीले बताएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए।
उनले हेर्दा–हेर्दै प्लेन पुरानो विमानस्थलवाट सेती नदीको खोँचमा खसेको र खसेलगत्तै आगोको मुस्लो निस्केको बताए।
‘प्लेन खसेलगत्तै एक्कासी ठूलो आगो लागे झै धुँवाको मुस्लो आयो,’ उनले भने, ‘लगत्तै हामीले उद्धारमा सक्रिय हुने सबैलाई निर्देशन दिएका छौं। अहिले दुर्घटनास्थलमा तीनवटै सुरक्षा निकायका साथै स्थानीयहरु पनि उद्धारमा सक्रिय रहेका छन्।’
सेती खोँचमा खसेका कारण उद्धारमा कठिनाई भइरहेको उनले बताए। हालसम्म ३२ जनाको शव निकालिएको र केही घाइतेहरुको उद्धार गरिएको भन्दै थप उद्धारको कार्य जारी रहेको उनले जानकारी दिए।
विमानमा चालकदलका सदस्यसहित ७२ जना सवार थिए। ६८ यात्रु र चार चालकदलका सदस्य सवार थिए। काठमाडौबाट पोखरा गएको विमान दुर्घटनामा परेको हो। तीनवटै सुरक्षा निकायले छिटोभन्दा छिटो उद्धारमा लाग्न निर्देशन दिएको र आगो अझै नियन्त्रणमा आउन नसकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।