काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना विभिन्न धार्मिक, पौराणिक तथा सांस्कृतिक महत्त्व बोकेको माघे सङ्क्रान्तिजस्ता चाडपर्वले आपसी सद्भाव तथा भ्रातृत्व स्थापित गरेको बताएका छन्।
माघे सङ्क्रान्ति (माघी पर्व) २०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको विश्वास व्यक्त गरेका छन्। तसर्थ यस्ता किसिमका मौलिक चाडपर्व र संस्कृतिको जगेर्ना, संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गरी सामाजिक सद्भाव र एकताको सन्देश दिन सक्नुपर्ने उनको भनाइ छ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा सांस्कृतिक विविधता र विशेषताले भरिएको अनुपम देश मानिने नेपाल विश्व समुदायमा आफ्नै मौलिक परम्परा र संस्कृतिको खानीका रूपमा परिचित रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले विविधतामा एकता हाम्रो साझा पहिचानको रूपमा रहेको बताएका छन्।
‘थारू समुदायको महान चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउँदै आएको माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्ति, किराँत येले संवत्को नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले जारी गरेको सन्देशमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।