पश्चिम तराईको एक घर (तस्बिर: अविनाश थारुको फेसबूकबाट)
धनगढी– माघीको केही दिन मात्रै बाँकी रहँदा कैलालीसहितका अन्य जिल्लाका थारु समुदाय यतिबेला नयाँ वर्षको स्वागतको तयारीमा व्यस्त देखिन्छन्। थारु समुदायका घर घरमा कोही पनि यति बेला फुर्सदिला छैनन्।
कैलालीको धनगढी उपमहानगरपालिका–१५ की सोमती चौधरी कुटानी–पिसनीको काम सकेर चामल केलाउँदै गरेको भेटिइन्। ‘माघीमा धेरै परिकार बनाउछौं। तयारी पनि बढी गर्नुपर्छ,’ उनले भनिन्, ‘अब तयारी पनि गरेर सकिनै लाग्यो।’
जंगलबाट सालको पात टिपेर ल्याउने, दुनाटपरी बनाउने, कुटानी–पिसानी गर्नेलगायतका काममा परिवारका सबै सदस्य सक्रिय हुन्छन्। माघी पर्वमा नभइ नहुने परिकार हो चामलबाट बन्ने ढिक्री। जुन चामलको पिठोबाट बनाइने गरिन्छ।
धनगढी–५ जाइकी जानकी चौधरी ढिक्रीका लागि चामलको पिठो बनाउन कुटानी–पिसानी सकेर दुनाटपरी बनाउन व्यस्त छिन्। ‘गाउँघरका सबैजना तयारीमा जुटेका छन्। हाम्रो पनि तयारी लगभग पूरा भइसकेको छ,’ जानकीले सुनाइन्।
थारू समुदायको नयाँ सम्वत् माघ १ गतेबाट सुरु हुने गर्दछ। पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्यको सुरुवात गर्ने गरिएको थारु अगुवा बताउँछन्। माघी पर्वको तेस्रो अर्थात् अन्तिम दिन घरपरिवार र गाउँ समाजमा ‘खोज्नीबोज्नी’ गर्ने गरिन्छ। यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा (बडघर) चयन गर्ने गरिन्छ। पुस महिनाको अन्तिम दिनबाट सुरु हुने यो पर्व माघ २ गतेसम्म मनाइने गरिन्छ।
पहिलो दिन वर्षभरिको दुःख पीडा बिर्सेर मासु, भातलगायत मीठा परिकार खाएर रमाउने चलन रहेको छ। कतिपय गाउँ, ठाउँमा यस दिन नाचगान पनि हुने गर्छ। माघ १ गते बिहानै नदी, दह, तलाउमा नुहाइधुवाइ पूजापाठ गरेर ठूलाबडा, घरको पुर्खाबाट आशीर्वाद लिने चलन रहेको धनगढी–१५ कनरीका मनोज चौधरीले बताए।
‘यो पर्वमा एक अर्कामा खुसी साट्दै नाचगान र मेलाको आयोजना गरि मनाइने गरिन्छ,’ उनले भने, ‘माघी पर्व मनाउनका घर बाहिर रहेकाहरु पनि घर फर्कने गर्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।