काठमाडौं– विशेष अदालत काठमाडौले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ।
विशेषले पाठकलाई ३ वर्ष ३ महिना कैदको फैसला सुनाएको छ। भ्रष्टाचार निवारण ऐनअनुसार ३ वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप ३ महिना कैद गर्ने फैसला सुनाएको हो।
त्यस्तै, नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई पनि विशेषले ३ वर्ष कैदको फैसला सुनाएको छ। विशेषले तत्कालीन आयुक्त पाठक र न्यौपानेलाई जनही ३९ लाख जरिवाना गर्ने फैसला सुनाएको छ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। आयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए।
उक्त प्रकरणबाट बच्न उनले आयुक्त पदवाट राजीनामा दिएका थिए। राजीनामा दिएपछि अख्तियारले नै उनीमाथि अनुसन्धान गरी घुस रिसवतमा मुद्दा दायर गरेको थियो।
दुवै जनाविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम जरिवाना र कैद सजाय माग अभियोगपत्रमा गरिएको थियो। आयोगले दायर गरेको मुद्दामा पाठकलाई जरिवाना र कैद सजायका साथै उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा बहाल रहेकै अवस्थामा कसुर गरेको हुँदा थप सजायको समेत माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।