गुल्मी– नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रद्वारा एबी केवल कनेक्टर जडानका विषयमा गुल्मी वितरण केन्द्र र रेसुङगा नगरपालिकाको कार्यविरुद्ध गुल्मीका नागरिक अगुवा आन्दोलित भएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरू आन्दोलनमा उत्रिएका छन्।
पछिल्लो समय बजारमा भन्दा केबल कनेक्टरको अस्वभाविक मूल्य वृद्धि र नगरको चेतावनीसहित निकालिएको सूचनाले आम नागरिकको गुनासो आएकोप्रति गुल्मीका नागरिक संस्था, पत्रकार, व्यवसायी, सामाजिक अभियन्ता र सरोकारवाला निकाय र व्यक्तिहरुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।
लोकतन्त्रको मर्म, सुशासनको मान्यता र नेपालको संविधानको भावनाअनुसार सार्वभौम नागरिकको स्थान सर्वोच्च रहेको र जनताद्वारा निर्वाचित एवम् जनताको करबाट सेवा सुविधा लिने व्यक्ति र निकायले जनताको सेवकको रुपमा कार्य गर्नुपर्ने अवस्थामा नागरिकलाई रैतीको रुपमा हेरिनु दुःखद बिषय भएको नागरिक समाजका संयोज पदमप्रसाद पाण्डेयले बताए।
नागरिक समाजका अगुवाले दुई दिनभित्र केबल कनेक्टर जडान नगरेमा लाइन काटिने भनी क्षेत्राधिकार बाहिरको सूचना सम्प्रेषण गरी नागरिकलाई त्रसित बनाउने कार्य लोकतन्त्र, र सुशासन विरुद्धको कार्य भएकाले यस्तो कार्य सच्याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिएको उनले जानकारी दिए।
सरकारको स्वामित्वमा रहेको विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रबाट सुशासन, पारदर्शिता र जवाफदेहिताकाविरुद्ध हुने गरी बजार मूल्यभन्दा करिब तेब्बर महङ्गो मूल्यमा अपारदर्शी ढंगले केबल कनेक्टर बिक्री गरी उपभोक्तालाई मारमा पारेको व्यापक जनगुनासो आइरहेको छ। नागरिक समाजले उपभोक्ताको जनगुनासोको सम्बन्धमा आवश्यक छानबिन गर्न र एकपटक विद्युत् सेवा लिइसकेका उपभोक्तालाई पुनः जडानका नाममा आर्थिक भार नपार्ने व्यवस्था गर्न सम्बद्ध अधिकारी र सरोकारवाला सरकारी निकायसमक्ष माग गरेको सुशासन अभियानका अभियन्ता विनोद पाण्डेयले बताए।
सेवाप्रदायक निकायबाट आम नागरिकको हित प्रतिकूल कार्य भइरहेको जनगुनासो प्राप्त भएपछि पनि अनुगमन र कारबाही गर्ने निकायले विषयलाई गम्भीरतापूर्वक नलिने, प्रतिरक्षा गर्ने र विषयान्तर गर्ने कार्य गरिएको सम्बन्धमा तत्काल छानबिन गर्न, नागरिकप्रति जवाफदेही हुन र पीडित नागरिकलाई क्षतिपूर्ति दिलाउन आवस्यक सार्थक पहलकदमी गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराइएको पाण्डेयले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।