काठमाडौं– वीरगञ्ज महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई कडा कारबाही गर्न थालेको छ। सडकका ठाउँठाउँमा खटिएका नगरप्रहरी र सफाइकर्मीले जथाभावी फोहोर फाल्नेलाई तत्कालै जरिवाना तिराउने गरेका छन्।
सडकमा जथाभावी फोहोर फाल्नेमा त्यहाँका वित्तीय संस्था अघि देखिएका छन्। मंगलबार मात्रै ग्लोबल आईएमई बैंकलाई अहिलेसम्मकै धेरै ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ।

पुरानो बसपार्कनजिकै रहेको बैंकले सडकमा असरल्ल पारेर फोहोर फालेकाले जरिवाना गराइएको महानगरका सरसफाइ तथा वृक्षारोपण संयोजक जयप्रकाश खेतानले बताए।
यस्तै, शिखर इन्स्योरेन्सलाई १ हजार ५ रुपैयाँ र महालक्ष्मी फ्लावर पसललाई ५ सय रुपैयाँ जरिवाना गरिएको पनि संयोजक खेतानले बताए।
फोहोरको प्रकृति र मात्राको आधारमा जरिवाना गर्ने गरिएको उनले स्पष्ट पारे।
पहिलो चरणमा सचेतना अभियान चलाइएको भए पनि अटेर गरेर सडकमै फोहोर फाल्न नछाडेपछि अब जरिवाना गर्न लागिएको महानगरका सरसफाइ प्रमुख सरफुद्धिन मियाँ बताउँछन्।
‘सडकमा जथाभावी फोहोर नफालौँ भनेर माइकिंग गर्नुका साथै सञ्चारमाध्यमबाट प्रचारप्रसार पनि गरियो, स्थलगतरुपमै पनि सचेतना अभियान चलाइयो,’ उनले भने, ‘तरपनि, अटेर गरेपछि बाध्य भएर जरिवाना तिराउन थालेका हौँ।’
अहिले दैनिकजसो वित्तीय संस्था र पसललाई जरिवाना तिराइँदै आएको छ।
सोमबारमात्रै कृषि विकास बैंक र गगन बचत तथा ऋण सहकारी संस्थालाई जरिवाना तिराइएको थियो।
महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाइलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन्।
अहिले नगर हरियाली र सफा बनाइराख्न सडक, नाला तथा फुटपाथमा राखिएका निर्माण सामग्री तथा भौतिक संरचना हटाउने र फोहोर व्यवस्थापन गर्ने कामका साथसाथै वृक्षारोपण गर्ने काम चलिरहेको छ।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।