डडेल्धुरा– डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भागेश्वर गाउँपालिका–४ आर्कुडाका ४२ वर्षीय सुन्दरसिंह भाट रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
सोमबार दिउँसो घर नजिकैको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर भाटको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए।
उनका अनुसार मृतक भाट नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराअन्तर्गत बगरकोट सबस्टेशनमा सुरक्षा गार्डको काम गर्थे।
‘बिदामा घर आएको बेला ट्रान्सफर्मरमा फ्युज जोड्ने बेला करेन्ट लागेको रहेछ,’ प्रहरी निरीक्षक जोशीले भने, ‘करेन्ट लागेर भुइँमा झेरछन्। गाउँले हेर्दा मृत्यु भइसकेको रहेछ।’
उनको शवलाई पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल पुर्याइँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।