काठमाडौं– हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई उडानको भाडा पनि घटेको छ। वायुसेवा सञ्चालक संघका अनुसार पुस २७ गतेदेखि लागू हुने गरी हवाई भाडा घटाइएको हो।
सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा ८८५ रुपैयाँले घटेको छ। यसअघि उक्त रुटमा यात्रुहरुले ८ हजार ३९५ रुपैयाँ भाडा तिर्दै आएकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ। यससँगै उक्त रुटको फूल फेयर (अधिकतम) भाडा १६ हजार १४० मा झरेको छ।
यस्तै काठमाडौंदेखि माउन्टेन फ्लाइटको भाडा ६८५ रुपैयाँले घटेर ५ हजार ८३५ रुपैयाँ कायम भएको छ।
काठमाडौंदेखि भद्रपुर रुटको भाडा ६००, काठमाडौं–विराटनगर ४८५, काठमाडौं–जनकपुर २६०, काठमाडौं–भरतपुर २१५, र काठमाडौं पोखरा रुटको भाडा ३२० रुपैयाँले घटेको छ।
यस्तै, काठमाडौं–भैरहवा ४१०, काठमाडौं–नेपालगञ्ज ६५५, काठमाडौं तुम्लिङटार ३७०, काठमाडौं–सिमरा १८०, काठमाडौं सुर्खेत ६९० र काठमाडौं–राजविराज रुटको भाडा ४११ रुपैयाँले घटेको छ।
नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको थियो। जसअनुसार हवाई इन्धन आन्तरिक तर्फको मूल्य लिटरमा २० रुपैयाँ घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।