धनगढी– कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधनमा नेपाली कांग्रेस कैलालीले शोक व्यक्त गरेको छ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वर्गीय कलेलको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको र उनको निधनप्रति शोक व्यक्त गरेको हो।
पार्टीले कलेलको शोकमा आइतबार एक दिन पार्टीको झण्डा आधा झुकाउने र जिल्ला पार्टी कार्यालयमा शोक पुस्तीका राख्ने जनाएको छ ।
प्रमुख कलेलको आइतबार बिहान ११ बजे उनको निजी निवास गौरीगंगा नगरपालिका वडा नम्बर ८ बडैपुरबाट अन्तिम संस्कार गरिने छ।
५३ वर्षीय प्रमुख कलेलको काठमाडौंस्थित वीर अस्पतालमा शनिबार दिउँसो १ बजेर ३८ मिनेटमा निधन भएको थियो। कलेजो र मिर्गौलासम्बन्धी समस्या देखिएपछि उनको अस्पतालमा विगत एक महिनादेखि उपचार भइरहेको थियो।
कांग्रेसको तर्फबाट गौरीगंगा नगरपालिका वडा नम्बर ८ बाट वडा सदस्य निर्वाचित कलेललाई पार्टीले गत जेठ २१ गते जिल्ला समन्वय समिति प्रमुख पदमा सिफरिश गरेको थियो।
स्व भजनसिंह कलेल र आमा स्व हिरादेवी कलेलको कोखबाट डोटी जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर १ स्यालीमा कलेलको जन्म भएको थियो। प्रमुख कलेलका चार दाजुभाइ मध्येका कान्छा हुन्। उनका श्रीमती, तीन छोरा र तीन छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।