धनगढी– कैलाली जिल्ला समन्वय समिति प्रमुख पदम कलेलको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंमा उपचाररत कलेलका शनिबार बिहान निधन भएको हो।
कैलाली जिल्ला समन्वय समितिका सूचना अधिकारी विमलप्रकाश जोशीका अनुसार कलेलको मिर्गौला र कलेजोमा समस्या देखिएको थियो। कलेल वीर अस्पतालमा उपचाररत थिए।
‘जन्डिस देखिएपछि घरेलु र एलोपेथिक उपचार गर्दा निको नभएपछि विर अस्पताल लगिएको थियो,’ उनले भने, ‘शुक्रबार डाइलासिस गर्दा केही सुधार भएको थियो तर, शनिबार उनको निधन भएको छ।’
समन्वय प्रमुख कलेल विभिन्न समन्वयात्मक कार्य गर्नका लागि काठमाडौं पुगेका थिए। सोही क्रममा बिरामी भएका उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए।
कलेल गौरिगंगा नगरपालिका वडा नम्बर ८ बाट वडा सदस्यमा विजयी भएका थिए। वडा सदस्यमा कलेलले सात सय ५३ मत प्राप्त गरेका थिए। जिसस प्रमुखका लागि सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कलेल १३ मत प्राप्त गरी विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।