काठमाडौं– थापाथलीस्थित सुकुम्बासी बस्तीको दायाँतर्फ अन्तिममा पुरानो त्रिपाल टाँगिएको छाप्रो छ। छाप्रोमा लेखिएको छ– ‘सल्टु मुखिया घर नं. १३४’।
बाँसका भाटा र त्रिपालका टुक्राले बारेर त्यसलाई घरको रुप दिइएको छ। छेउछेउबाट बाँसको टेकोले अड्याइएको छ।
घर हो, सल्टु मुखिया र परमेशवरी मुखियाको।
यी दम्पती दृष्टिविहीन छन्। उनीहरूका एक छोरी छिन्। सल्टुको छोरीलाई काठमाडौंको एक संस्था(उनलाई नाम थाहा छैन)ले लगेर पढाइदिएको रहेछ।
घरभित्र जस्ताले बारेका ३ कोठा छन्। एउटा कोठामा जस्ताको ठूलो बाकस छ। अर्को कोठामा ग्यास चुुल्हो र भाँडाकुँडा। एउटा कोठाको भुइँमा झुत्रा लुगा विछ्याएको छ। त्यही ओछ्यानमा सल्टु दिनभरि पल्टिरहन्छन्।
ओछ्यानको छेउमा परमेरश्वरीदेवीको शृङ्गारका सामग्री राख्ने सानो बाकस छ। परमेश्वरी बाकसबाट क्रिम पाउडर झिकेर अनुहारमा लगाउँछिन्। क्रिम लगाएपछि सिन्दुरको बट्टा बोकेर छिमेकीको घरमा पुग्छिन् र भन्छिन्, ‘दिदी लगाइदिनुस् न सिन्दुर।’
छिमेकी महिलाले सिन्दुर लगाइदिन्छिन्।
परमेश्वरीदेवीलाई घरको जिम्मेवारी छ। उनले आफ्नो र श्रीमान्को समेत पेट पाल्न सडक पेटीमा दिभरि हात थाप्नुपर्छ। यति नगरे उनीहरूको साँझ बिहान जोहो हुन गाह्रो छ। परमेश्वरीदेवी सबेरै उठेर बागमती पुलमा पुग्छिन्। पुल तरेपछि सडकपेटीमा बसेर पैसा माग्छिन्।
‘सधैं कसैले दिँदैन। कोही चिनेजानेका मान्छेले यसको त श्रीमान् पनि अपाङ्ग छ भनेर दिइहाल्छन्। कहिले सौ डेढसौ हुन्छ। कहिले खालीहात घर फर्किनुपर्छ,’ उनी सुनाउँछिन्।
उनीहरु आफू खाना पकाउन सक्दैनन्। कहिले दिएका खानेकुरा खाएर पेट भर्छन्। कहिले मागेर ल्याएको पैसाले। यसरी नै उनीहरूको १३ वर्ष बिते।
परमेश्वरीका हजुरबा शिव दास ४ वर्षअघि उनीहरूसँग बस्न आएपछि भने भान्छामा चुल्हो बल्न थालेको छ। त्यसअघि शिव नजिकैको मन्दिरमा बस्थे। त्यहाँ बस्दा उनले डेरा गरेर बसेका थिए। ‘त्यहाँ म महिनाको ३ हजार भाडा तिरेर बसेको थिएँ। अहिले यहाँ आएको छु। भाडा तिर्न पर्दैन, यिनीहरूलाई पनि सहयोग भएको छ,’ उनले भने।
आफू आएपछि शिवले ग्यास चुल्हो र सिलिण्डर ल्याएका थिए। शिव योगी हुन्। उनी काठमाडौंका विभिन्न मन्दिरमा बसेर भिक्षा माग्छन्। बिहान डेढ दुई घण्टासम्म मन्दिरमा बस्छन्। कहिले पाटनमन्दिर जान्छन्। कहिले कलंकी मन्दिर, कहिले नजिकै राम मन्दिरमा।
‘दिनमा डेढ दुई घण्टा बसेँ भने तीनचार सौ हुन्छ। त्यतिभए त खर्च पुगिहाल्यो,’ उनी भन्छन्।
उनले मागेर ल्याएका चामल पकाउँछन्। परमेश्वरी र सल्टुलाई पनि खुवाउँछन्। परमेश्वरीले पनि मागेर ल्याएको पैसाले थप जोहो हुन्छ।
शिवको घर तराईमा छ। घरमा २ छोरा र बुहारी छन्। छोरा बुहारी मजदुरी गरेर जीविका गर्दै आएको उनी बताउँछन्।
परमेश्वरीदेवी उनकै नातिनी हुन्। शिवको श्रीमती बितेको ३० वर्ष भयो। श्रीमती बितेपछि उनी घर छाडेर काठमाडौं आएका थिए।
२० वर्षअघि परमेश्वरीदेवी र सल्टुले भागेर विवाह गरेका थिए। त्यसै साल उनीहरू बन्दीपुरबाट काठमाडौं पसे।
यत्रो वर्ष बस्दै ठाएको ठाउँबाट बास उखेल्ने कुरा सुन्दा उनीहरू तर्सिरहेका छन्। ‘यहाँबाट हामीले नयाँ संसार देख्यौं, अब यहीँबाट निकाले भने कहाँ जाने,’ सल्टुको चिन्ता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।