काठमाडौं– खुलामञ्चलाई पार्किङस्थलमा रुपान्तरण गर्न थालिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अकुपाई टुँडिखेल’ले विरोध जनाएको छ। काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरुले विरोध सुरु गरेका हुन्।
सम्पदा संरक्षण अभियन्ताले ३ वर्ष अगाडि सुरु गरेको अकुपाई टुँडिखेल अभियानले सोमबार काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय बागदरबार अगाडि प्रदर्शन गरेको छ।

अभियान्ताहरुले टुँडिखेल (खुलामञ्च)को ऐतिहासिक तथा पूरातात्विक महत्व मासिने गरी पार्किङ बनाउन नहुने माग गरेका छन्। उनीहरुले काठमाडौं महानगर प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाउने जनाएका छन्।
विकल्प हुँदाहुँदै सार्वजनिक सम्पत्तिको रूपमा रहेको खुलामञ्चमा महानगरले पार्किङ भवन बनाउने योजनासहित डीपीआरको काम अगाडि बढाउँदा प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक महत्त्व बोकेको खुलामञ्च मासिने जोखिम बढेको अकुपाइँ टुँडिखेल अभियानले उल्लेख गरेको छ।

खुलामञ्च प्राचिन हिटी प्रणालीसँग जोडिएको प्राकृतिक रिचार्ज सिस्टम भएको उल्लेख गर्दै अभियानले त्यहाँ पार्किङ बनाइँदा अन्य नकारात्मक वातावरणीय प्रभाव पनि पर्ने जनाएको छ। खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङको सोच नै गलत रहेको पनि अभियानको दाबी छ।
गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १०औँ कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय गरेको थियो। जुन निर्णय अहिले विवादित बनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।