झापा– शिवसताक्षी नगरपालिका–११ मा वृद्ध दम्पती जङ्गली हात्तीको आक्रमणमा परेका छन्।
जसमध्ये पत्नी ६१ वर्षीया वृद्धा कृष्णमाया भण्डारीको उपचारका क्रममा आइतबार मृत्यु भएको छ भने ७१ वर्षीय पति शान्तिराम भण्डारी गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार आफ्नै घरमा रातिको निन्द्रामा रहेको अवस्थामा शनिबार राति छावा (बच्चा) सहित आएका चारवटा हात्तीले भण्डारीको घरमा आक्रमण गरेको थियो।
हात्तीले भत्काएको घरको छतले किचिँदा भण्डारी दम्पती घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि दमकको आम्दा अस्पतालमा भर्ना गरिएकामा कृष्णमायाको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
हात्तीको आक्रमण बढ्दै
झापामा भारतबाट आउने र रैथाने जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बढ्दै गएको छ। गत एक महिनामा दुईजनाको हात्तीकै आक्रमणबाट मृत्यु भएको थियो। यस अवधिमा घाइते हुनेको सङ्ख्या पाँच पुगेको छ।
यसअघि बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको थियो। झापाका पन्ध्रै पालिका जङ्गली हात्तीबाट प्रभावित छन्।
हात्तीको आक्रमणमा गत मंसिर २५ गते हल्दिबारी गाउँपालिका–४ की ५५ वर्षीया गौरादेवी पौडेल, ६५ वर्षीय नगेन्द्र पौडेल, ५८ वर्षीया पार्वता पौडेल र २८ वर्षीय चेतन पौडेल घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।