पोखरा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै अघि बढाउने बताएका छन्।
आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आजको जमाना कनेक्टिभिटीको रहेको र त्यसमध्ये पनि हवाइमार्गको नेटवर्क सबैभन्दा मुख्य रहेको उल्लेख गरे।
‘यो तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। काठमाडौं र भैरहवापछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। हामी छिट्टै निजगढ विमानस्थलको काम अगाडि बढाउँछौं। हामी विकासलाई तीव्रता दिएर अघि बढ्छौं’, प्रधानमन्त्री दाहालले भने।
पोखरा विमानस्थलले पोखरा र गण्डकीका लागि मात्र नभएर देशकै विकास र समृद्धिको सपनामा महत्त्वपूर्ण योगदान गर्ने प्रधानमन्त्री दाहालले बताए।
अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, पोखरा महानगरका मेयर धनराज आचार्य, विमानस्थल निर्माणकर्ता चिनियाँ कम्पनीका अधिकारीहरूले पनि सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।