काठमाडौं– कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ अहिले पर्दाबाट बाहिर छन्। हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट लोकप्रियता कमाएको यो जोडी ०७२ को भूकम्पपश्चात् सामाजिक काममा सक्रिय रहृयो।
पछिल्लो समय चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न तम्सेको यो जोडीले अन्त्यमा नसकेपछि हात झिक्यो। त्यसयता धुर्मुस र सुन्तली सार्वजनिक मञ्चहरूमा देखिएका छैनन्।
धुर्मुस र सुन्तलीलाई आफ्नै कामले गह्रौँ हुँदै गइरहेको हास्य कलाकार जितु नेपालको चिन्ता छ। एपिवानबाट प्रसारण हुने ‘द प्रकाश सुवेदी शो’मा धुर्मुसको प्रसंगमा जितुले चिन्ता व्यक्त गरे।
धुर्मुसलाई हास्य कलाकारितामा डेब्यू जितुले गराएका थिए। जितु अहिले धुर्मुसको कलाकारिता ओझेल पर्दै गएको बताउँछन्। ‘ठूलो–ठूलो काम गरेर ठूलो पनि हुनुभयो। ठूलो नाम कमाउनुभयो। त्यही ठूलो आज आफूलाई घाँडो भयो। यसकारण कहिलेकाहिँ सानैमा पनि बस्नुपर्छ। उहाँलाई गाह्रो भयो अब के गर्ने। अब राम्रो विषयमा अभिनय गरेर दर्शकको मन जित्नुपर्यो,’ जितु भन्छन्।
धुर्मुसबारे उक्त शोमा जितु भन्छन्:
उनी मेरो चेला हुन्। ‘गीतान्जली’ भन्ने गीतको कार्यक्रम गर्थेँ म। त्यतिबेला केदार र सिताराम छुट्टाछुट्टै आएका थिए। सीताराम ऋषिराम कट्टेलसँग प्रहसन गर्थे। केदार एफएममा कार्यक्रम चलाउनुहुन्थ्यो। उहाँहरूले लेखेर ल्याउनुभयो। साह्रै ट्यालेन्ट लाग्यो।
अहिले आएर कलाकारिता अलि ओझेलमा परेको हो कि। यति प्रतिभा भएको मान्छे, हरिवंश दाईपछिको एक मात्र अभिनेता छ भने धुर्मुस हो, भनेको मान्छे। यति राम्री सुन्तली आज खुम्चिँदै जानुभयो। आफैंलाई गह्रौँ बनाउनुभयो कि जस्तो मलाई लाग्छ।
ठूलो ठूलो काम गरेर ठूलो पनि हुनुभयो। ठूलो नाम कमाउनुभयो। त्यही ठूलो आज आफूलाई घाँडो भयो। यसकारण कहिलेकाहिँ सानैमा पनि बस्नुपर्छ। उहाँलाई गाह्रो भयो अब के गर्ने।
अब राम्रो विषयमा अभिनय गरेर दर्शकको मन जित्नु पर्यो। अब रंगशाला हैन कलाकारितै गर्ने। म फेरि हरि दाईतिरै लान चाहन्छु। दाइहरूले पनि कलाकारिता छाडेर अन्त लाग्नुभाको भए यो हुने थिएन।
‘मेरी बास्सै’ भन्दा पनि खतरा चिज लिएर दर्शकमाझ आउनुपर्यो। धुर्मुस–सुन्तलीको फिल्म नहेरी कहाँ सुत्ने? भन्ने हुनुपर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।