काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका रुपमा आफ्नो अहिलेको कार्यकालमा भाषण कम गर्ने बताएका छन्। चितवनस्थित नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहमा सम्बोधन गर्दै उनले जनताको सेवा गर्ने प्रतिज्ञा सुनाए।
'तपाईंहरुलाई थाहा छ, मैले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने भनेको छु। म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन। यो कार्यकाल म भाषण कम र काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने मैले प्रतिज्ञा गरेको छु', उनले भने।
प्रधानमन्त्री प्रचण्डले आफूहरु अहिले एउटा विशिष्ट परिस्थितिबाट अगाडि बढिरहेको बताए। उनको भनाइ छ, 'मैले यो पटक हरेक दिन देशको पक्षमा, जनताको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपालीको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु।'
प्रधानमन्त्रीको सपथ ग्रहण गरेपछिको पहिलो क्याबिनेट बैठकबाट देशलाई अर्थतन्त्रको संकटबाट पार लगाउनुपर्ने आवश्यकता, सुशासन कायम गर्नुपर्ने ऐतिहासिक आवश्यकता, भ्रष्टाचार र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता, जनताले विभिन्न क्षेत्रमा पाइरहेका सास्तीबाट मुक्त गर्नुपर्ने आवश्यकतालाई इंगित गरेर निर्णय गरिएको उनको भनाइ थियो।
'जनतालाई पीर मर्कामा पार्ने कुनै पनि निर्णयमाथि मैले कठोर कदम चलाएर मैले जनता र राष्ट्रको पक्षमा नै जाने संकल्प लिएको छु', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।