काठमाडौं– हामीले कहिल्यै बालबालिकाको कुरा सुनेका छौं? उनीहरूका महत्वपूर्ण जिज्ञासा र सवालहरूमाथि ध्यान दिएका छौं? आउनुस् आज हामी उनीहरूको कुरा सुनौं, उनीहरूका प्रश्नहरूमाथि विचार गरौं।
जो बालबालिका पहिलो पटक सुदूर गाउँबाट काठमाडौं आएका छन्, उनीहरूलाई काठमाडौं कस्तो लाग्यो त? काठमाडौंबाट उनीहरूले आफ्नो देश कस्तो देखे त? आफ्नो ठाउँलाई राजधानीसँग कसरी दाँजे त? उनीहरूको अनुभव यहाँ प्रस्तुत गरेका छौं।
जाजरकोटकी जयन्ता खत्री गत साता पहिलो पटक काठमाडौं आइन्। कल्पनामा देखिने काठमाडौं त विल्कुल फरक रैछ।
गुडिरहेको गाडी, एकै ठाउँमा गुजुल्टिएझैं लाग्ने अग्ला घर, मानिसहरूको भीडले उनलाई चकित बनाएको छ।
सेभ द चिल्ड्रेनले कर्णाली र मधेश प्रदेशका बालसमूहका बालबालिकालाई राजधानी अवलोकन गर्न ल्याएको थियो। नारायणी माविमा कक्षा १२ मा पढ्दै गरेकी जयन्ता त्यही शिलशिलामा काठमाडौं आइन्।
‘पहिलो पटक काठमाडौं आउँदा कस्तो लाग्यो?’ जयन्तालाई सोध्यौं। ‘यहाँका सबै मान्छे व्यस्त हुँदा रैछन्। गाउँमा त कोही आयो भने पनि चासो हुन्थ्यो,’ उनी आफ्नो अनुभूति सुनाउँछिन्।
जयन्ता जाजरकोटबाट सुर्खेतसम्म गाडीमा आइन्। त्यसपछि हवाइजहाज। पहिलो पटक हवाइजहाज चढ्दा डर र खुसी दुवै भरिएका थिए उनमा।
कर्णालीमा शिक्षा, स्वास्थ्य र यातयातको सुविधा छैन। ‘तर, काठमाडौंमा त सबथोक रैछ,’ जयन्ता अनुभूत गरिरहेछिन्।
काठमाडौं प्रवेश गरेपछि वसन्तपुर, पशुपति, सिंहदरबार, पाटनढोका नारायणीहिटी घुमिन् जयन्ताले। ग्राण्डी अस्पताल पनि पुगिन्। यहाँको सुविधा देखेपछि उनीभित्र धेरै प्रश्न जन्मिएका छन्।
‘कर्णालीमा बाटोघाटो राम्रो छैन। आमाहरूले बाटोमा नै बच्चा जन्माउँछन्। अस्पताल सजिलै पुग्ने बाटो कहिले पुग्छ होला?’ उनमा जिज्ञाशा छ।
जयन्ता बालसमूहमा सक्रिय छिन्। गाउँमा बालअधिकारका विषयमा आवाज उठाउँछिन् जयन्ता। यहाँबाट फर्केपछि गाउँमा विकासका विषयमा पनि आवाज उठाउनुपर्छ भन्ने लागेको छ। तर, काठमाडौंमा पनि उनले सामाजिक विकासको अभाव महसुस गरेकी छन्। ‘यता भौतिक विकास भएता पनि समाजिक विकास हुन अझै समय लाग्ने रैछ,’ जयन्ताले भनिन्।
जयन्तालाई जस्तै प्रश्न धनुषाका रिषभ कुमारलाई गरियो, ‘पहिलो पटक काठमाडौं आउँदा कस्तो लाग्यो?’
‘सानो नेपाल जस्तै लाग्यो,’ उनी आफ्नो धारणा सुनाउँछन्।
काठमाडौं जाने रहर त उहिल्यैदेखि थियो रिषभको। यसपालि माइक्रोबस चढेर काठमाडौंको यात्रा तय गरे, बालसमूहका साथीसँग। ‘तराईमा यहाँ भन्दा जाडो हुन्छ। पुसको महिना अझ बढी चिसो हुन्छ। तर, यहाँ घाम पनि लाग्दो रैछ,’ रिषभ अचम्म मान्छन्।
काठमाडौंको वसन्तपुर निकै मन पर्यो उनलाई। अनि काठमाडौंमा अनेकतामा एकतामा देखेपछि झनै दंग छन्। ‘सबै समुदाय, भेषभुषा, जाति, भूगोलका मान्छे बस्छन्। पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मको मान्छे अटाएका छन्,’ उनी भन्छन्, ‘नक्सामा सानो खाल्डो जस्तो देखिने काठमाडौंमा यति मान्छे कसरी आएका होलान्।’
एउटै दृश्यले चाहिँ दुःखी बनायो रिषभलाई। बागमती नदीको नजिक पुग्दा नदी हो कि नाला, ठम्याउन सकेनन्। उनले मोबाइलमा गुगल गरेर हेरे, अनि विष्णुमति नदी भनेर थाहा पाए।
गौमाया अधिकारीको घर सुर्खेतको जुरु भन्ने ठाउँमा छ। पहिलो पटक हवाइजहाज चढेर काठमाडौं आइन्। उनलाई धेरै अनौठो लाग्यो। ‘सधैं तलबाट हिमाल र बादल हेरिन्थ्यो। यो पालि ठ्याक्कै उल्टो देखियो,’ उनी अचम्मित मुद्रामा भन्छिन्। राजधानीमा मान्छे र सवारी साधनको भिड भने कमिलाको ताँती जस्तै लाग्यो उनलाई।
अमरज्योति मोडेल माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत् छिन् उनी। प्रदेशस्तरीय बालसञ्जालको महासचिव गौमाया काठमाडौंमा सिकेको कुरा फर्केपछि साथीहरूलाई सिकाउन चाहन्छिन्।
प्रकाश विक अजयमेरु बालसमूहका अध्यक्ष हुन्। शुभकालिका गाउँपालिका कालिकोटका उनी कक्षा ९ मा पढ्छन्। पहिलो पटक काठमाडौं आउँदा उनीसँग केही खुशी, जिज्ञाशा र प्रश्न थिए।
यहाँको विश्व ऐतिहासिक सम्पदा देखेर भने आन्नदित भए। ‘काठमाडौं मन्दिरै मन्दिरको शहर हो भन्ने सुनेको थिएँ, हो रहेछ,’ उनी भन्छन्।
तर फोहोर र ध्वनि प्रदुषणले भने उनलाई नरमाइलो लाग्यो। काठमाडौं यति फोहोर छ भन्नेचाहिँ लागेको थिएन प्रकाशलाई।
हिमानी आव्या कायापलट बाल समूहकी सदस्य हुन्। धनुषाको जनकपुरधाममा १२ कक्षामा पढ्छिन् उनी। उनीभित्र एउटा प्रश्न थियो, ‘किन काठमाडौं राजधानी भएको होला?’ काठमाडौं टेकेपछि उनले आफ्नो प्रश्नको जवाफ भेटिन्,‘यहाँ सबैक चिजको रंगिविरंगी इन्द्रेणी रहेछ।’
तराईमा अझै छोरीलाई पढाउनु हुँदैन भन्छन्। तर, काठमाडौंमा आफूजस्ता सबै छोरी विद्यालय गएको देखेर खुशी भइन्। उनले यहाँका मान्छे शिक्षित, अनुशासित र चेतनशील पाइन्।
कुशे गाउँपालिका, जाजरकोट कि प्रतिमा रोकायाले पहिलो पटक काठमाडौं आउँदा कर्णालीका थुप्रै समस्या सम्झिइन्। ‘उता त सिटामोल पनि पाउन गाह्रो हुन्छ। तर काठमाडौंमा त कति धेरै अस्पताल?’ उनले सोचिन्।
उनलाई नारायणहिटी र सिंहदरवार निकै मन पर्यो। सिंहदरवारभित्र रेडियो नेपाल गएकी थिइन् उनी। उनी भद्रकाली नजिकको नेपाल टेलिकमको टावरको अवलोकन गर्न पनि पुगिन्।
प्रविधिको विकासले फड्को काठमाडौंमा त मारेको रैछ। तर यही विकास उनी कर्णालीमा पनि भएको हेर्न चाहन्छिन्। ‘सबै ठाउँमा समान खालको विकास भए सबै मान्छे समान हुने थिए,’ उनी भन्छिन्।
पहिलो पटक काठमाडौं आउने बालबालिकाका जिज्ञासा साँच्चै रोचक छन्, अनि गम्भीर पनि। सपनाको सहर लाग्ने काठमाडौंसँग उनीहरूको अपेक्षा रहेछ, प्रश्न रैछ र गुनासो पनि। उनीहरू काठमाडौं फोहोर भएको रुचाउँदैनन्। काठमाडौं सांस्कृतिक रुपमा धनी भएको रुचाउँछन्। यहाँको विकास र सुविधा रुचाउँछन्।
अनि ठान्छन्,‘त्यही कुरा आफ्नो ठाउँमा पनि भइदिए।’ उनीहरूले आफ्नो आँखाबाट आफ्नै ठाउँको विकासको सपना देखे। सायद यसैकारण काठमाडौंलाई आफ्नो ठाउँसँग तुलना गर्दा उनीहरू दु:खी पनि देखिए।
यसकारण बालबालिकाले आफ्नो ठाउँमा जे चाहेका छन्, त्यतिमा मात्र पनि सरकारको ध्यान पुग्ने हो भने विकास कसो नहोला !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।