स्याङ्जा– भारतीय सेनाका क्याप्टेन। सिक्किममा पोस्टिङ। सिक्किमको पर्यटन देखेर प्रभावित। अनि, सञ्चालनमा आयो नेपालकै पहिलो होमस्टे। यो सिरुबारी होमस्टेको कथा हो।
स्याङ्जा आदिखोला गाउँपालिका वडा नं १ सिरुबारीमा गुरुङहरुको बस्ती रहेको छ। पहिले यस गाउँका अधिकांश मानिस भारतीय सेनामा कार्यरत रहेका थिए।
त्यसैमध्ये एक थिए क्याप्टेन रुद्रमान गुरुङ। उनी, भारतीय सेनामा क्याप्टेन भएर सिक्किम पुगे। सिक्किम पुगेपछि त्यहाँको पर्यटकीय विकास देखेर प्रभावित भए। त्यसपछि गुरुङले स्याङ्जाको पर्यटकीय विकासमा हात हाल्ने निर्णय गरे।
रुद्रमान २०५४ सालमा आफ्नो गाउँको साथीहरुको सहयोगमा ग्रामीण पर्यटन (होमस्टे) सुरु गरे। यो होमस्टे नेपालकै पहिलो होमस्टे थियो। नेपालमा त्यसभन्दा अगाडि होमस्टे कुनै ठाउँमा सञ्चालनमा आएको थिएन।
गुरूङ जीवनशैली, संस्कृति र आत्मीयताका लागि ख्याति कमाएको गाउँ हो– सिरुबारी। सिरुबारीको शिरान देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालसम्मको लामो लर्कन देखिन्छ। गोरुजुरे र थुम्रो जुरो (२ हजार २३ मिटर)बाट झन् राम्रो दृश्य देखिन्छ। डहरेडाँडामा उहिल्यै डहरा ऋषिले तपस्या गरेका थिए। त्यहाँ आश्रम पनि छ। सिरुबारीमा विसं २०५४ असोज २२ गतेदेखि पाहुना राख्न थालिएको हो। पछि वि.सं. २०५७ मा यसलाई नेपालकै पहिलो नमुना पर्यटन गाउँ घोषणा गरियो।
रुद्रमानले सुरु गरेको अभियान सिरुबारी होमस्टे अहिले देशमै चर्चित होमस्टे मध्य एक भएको छ। २०५४ सालमा रुद्रमानको अगुवाइमा सिरुबारीलाई ग्रामीण पर्यटकीय गाउँ घोषणा गरिएको थियो । त्यसपछि नेपालका अरु गाउँमा पनि होमस्टे खोल्ने क्रम सुरु भयो।
सिक्किममा रुद्रमानले गाउँमा पर्यटक राख्ने गरेको देखेपछि आफ्नै गाउँमा पनि यस्तै गर्नुपर्छ भनेर उनी गाउँ फर्किए र सबै साथी र गाउँले साथीहरुलाई बोलाएर छलफल गरे सिरुबारीका अग्रज तथा रुद्रमानका सहयात्री ८४ वर्षीय क्याप्टेन बबरसिंह गुरुङ अहिले पनि स्मरण गर्छन्। उनी भन्छन् रुद्रमानले हिम्मत गरेर शुरु गरेको होमस्टेमा सुरुवाती चरणमा मासिक ३० देखि ५० पर्यटक आएको स्मरण छ।
सुरुमा मासिक ५० पर्यटक पनि नपाएको सिरुबारी होमस्टेले अहिले सयौं संख्यामा पर्यटक भित्र्याउने गरेको छ। सिरुबारीमा जम्मा ४४ घर धुरी रहेका छन्। जसमध्ये १९ घरले होम्स्टेय सञ्चालन गरी गाउँमै बसी राम्रो आम्दानी गर्ने गरेका छन्। प्रत्यक घरले मासिक ३० देखि ४० हजारसम्म आम्दानी गरीरहेको सिरुबारी पर्यटन विकासका अध्यक्ष जितेन्द्र गुरुङले बताएका छन्। उनका अनुसार विगतका वर्षमा वार्षिक ३ हजार ५०० पर्यटकको आगमन भएको भने यस पटक १० देखि १२ हजार पर्यटक भित्र्याउने लक्ष्य छ।
२०५४ सालमा आफ्नो गाउँलाई पर्यटकीय गाउँ बनाएका रुद्रमानको २०७२ सालमा ८६ वर्षको उमेरमा निधन भयो। तर, उनलाई सिरुबारीले अहिलेसम्म पनि बिर्सिएको रहेनछ। सिरुबारीका स्थानिय तथा होमस्टे सञ्चालक किरण गुरुङले आफूहरुको गाउँ पर्यटकीय गाउँ बन्नुको एकमात्र कारण रुद्रमान बुवाकै परिकल्पना भएको बताउछिन्।
सिरुबारी प्रकृतिले दिएको मनोरम उपहार भएको आन्तरिक पर्यटकहरुले भन्ने गरेका छन्। रुपन्देही निवासी गणेशमान भण्डारी सिरुवारी होमस्टेमा आफुले अनुभव गरेको आतिथ्यताको खुलेर प्रशंसा गर्छन्। उनी भन्छन्, ‘होमस्टे भनेकै सिरुबारी जस्तो हुनुपर्छ। भण्डारी सिरुबारी होमस्टे भ्रमण गर्न सबैलाई सल्लाह दिन्छन्।
सिरुबारी होमस्टे नै भ्रमण गर्न पुगेका रुपन्देही ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले सिरुबारीबाट नेपालका धेरै स्थानीय तहले कसरी पर्यटनको बिकास गर्न सकिन्छ भनेर सिक्न सकिने बताउछन्। गौतमले आफूहरुले पनि सिरुबारीबाट धेरै कुरा सिकेको बताए।
सिरुबारीमा भ्रमण गर्न पुगेका पाहुनाहरुलाई सत्कार गर्ने शैली चाखलाग्दो छ। आएका पाहुनालाई गाउँको प्रवेशद्वारबाट फूलमाला र पञ्चै बाजाले स्वागत गरेर गुम्बामा दर्शन गराएपछि घरघरमा बाँडेर राखिन्छ। साँझ सांस्कृतिक कार्यक्रम देखाइन्छ। मिठो खाना र आत्मीय व्यवहार सिरुबारीको विशेषता हो। होमस्टेमा रात बिताउने गरी यात्रा गर्दा पहिल्यै खबर गर्नुपर्छ। र, घाम नडुब्दै गाउँ पुग्नुपर्छ। त्यसो भएमा गाउँलेले आवश्यक तयारी गर्न पाउँछन्।
नेपालमा सिरुबारीजस्ता धेरै गाउँ रहेका छन्। जसलाई पर्यटकीय गाउँको रुपमा विकास गर्न सकिने सरोकारवालाहरु बताउँछन्। सिरुबारीबाट सिकेर नेपालका गाउँहरुमा होमस्टे सञ्चालन गरेर प्रचारप्रसार गर्न सके नेपालको पर्यटनको लागि ठूलो टेवा पुग्ने उनीहरुको भनाइ छ। हुन पनि होमस्टेले पर्यटनको विकासमात्र नभएर नागरिकलाई स्वरोजगारको बाटो पनि देखाएको छ। नेपाल पर्यटनको प्रचुर सम्भावना बोकेको देश हो। त्यसैले पर्यटनको विकासमा गाउँ–गाउँमा सञ्चालन गरिने होमस्टे महत्वपूर्ण भूमिका खेल्ने पर्यटन व्यवसायीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।