काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री बन्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग गरेको साँठगाँठप्रति असन्तुष्टि पोखेका छन्। सोमबार विज्ञप्ति जारी गर्दै उनले हद दर्जाको अवसरवादी कार्य भएको बताएका छन्।
‘गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य हो’, विज्ञप्तिमा उल्लेख छ, ‘प्रचण्डको उक्त कार्य यही मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा व्यक्त जनताको जनादेशप्रतिको अपमान र स्वयं जनताप्रतिको ठूलो धोका पनि हो।’
प्रचण्डको उक्त कार्य यही मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा व्यक्त जनताको जनादेशप्रतिको अपमान र स्वयं जनताप्रतिको ठूलो धोका भएको केसीको ठहर छ।
उनले प्रधानमन्त्री बन्नका लागि प्रचण्डले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवादपरस्त तत्वहरूसित पनि गठबन्धन गरेको उल्लेख गरेका छन्। ‘उनको त्यो कार्यको हामीले कडा शब्दमा निन्दा तथा भर्त्सना गर्दछौं’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।