काठमाडौं– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेलुका ४ बजे पद तथा गोपनियताको सपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार सोमबार अपराह्न ४ बजेका लागि सपथको समय तोकिएको हो।
प्रचण्ड आइतबार ४४ औं प्रधानमन्त्रीका रुपमा नियुक्त भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
राष्ट्रपति भण्डारीले पुस ३ गते एक सूचनामार्फत् पुस १० गतेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी थिइन्। संविधानको धारा ७६ (२) अनुसार दाबी पेस गर्न भनिएकोमा प्रचण्डले आइतबार दाबी गरेका थिए।
प्रचण्डको दाबीमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जसपाले साथ दिए। त्यस्तै, स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र डा अमरेशकुमार सिंहको पनि साथ दिएका छन्।
प्रचण्ड प्रतिनिधि सभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको अध्यक्ष तथा संसदीय दलको नेता हुन्। २७५ सदस्यीय प्रतिनिधि सभामा माओवादी केन्द्रको ३२ सिट मात्रै छ।
उनले सत्ता गठबन्धनको मुख्य दल र प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसको साथ लिएर सरकारको नेतृत्व गर्ने प्रयत्न गरेका थिए। तर कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई प्रधानमन्त्री बन्न नसघाउने भएपछि आइतबार नै एमाले लगायतका दलसँग सहमति गरेर प्रधानमन्त्रीमा दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।