काठमाडौं– प्रधानमन्त्रीमा पुष्पकमल दाहाल (प्रचण्ड)लाई समर्थन गर्ने निर्णय गरेका जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता (राजनीति)को पहिलो क्लास (कक्षा)बाट ज्ञान र वितृष्णा दुवैको अनुभव हासिल गरेको टिप्पणी गरेका छन्।
आइतबार दिउँसो सरकार गठनका लागि बैठक चलिरहँदा राउत पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास, भक्तपुरको बालकोट पुगेका थिए।
प्रचण्डले बोलाएपछि बालकोट पुगेको बताएका राउतले आफ्नो पार्टीको समर्थन प्रचण्डलाई रहेको जनाउँदै सरकार गठनका लागि राष्ट्रपतिलाई बुझाइएको पत्रमा हस्ताक्षर गरेका थिए।
आइतबार दिनभरका राजनीतिक घटनाक्रमको ‘प्रत्यक्ष साक्षी’ बनेका राउतले राति सामाजिक सञ्जालमा एक सन्देश लेख्दै पहिलो क्लासमै धेरै ज्ञान र वितृष्णा पनि अनुभव गरेको बताएका छन्।
‘सत्ताको पहिलो क्लास आज। पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस म त सुनिरहेँ। काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला। तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति,’ राउतले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।