काठमाडौं– नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले एक–अर्कालाई गाली गरेर नथाक्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका थुप्रै पार्टीहरूको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकोप्रति कटाक्ष गरेका छन्।
एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा र केही स्वतन्त्र सांसदले समर्थन गरेर प्रचण्ड आइतबार प्रधानमन्त्री बनेका थिए। प्रचण्डलाई प्रधानमन्त्री बनाएर सबै फोहोरी खेलमा चुर्लुम्म डुबेको उनले प्रतिक्रिया दिएका छन्।
‘नैतिकता, इमान्दारिता, सिद्धान्त, निष्ठा र परिवर्तन गर्छु भन्ने सबै फोहोरी खेलमा चुर्लुम्म डुबे। नेपाल आमाले पुनः सास्ती पाउने भइन्,’ पुरानालाई गाली गर्दै भोट बटुल्न सफल नयाँ तथा साना पार्टीहरूप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भनाइ र गराइमा आकाश–जमिनको फरक।’
खरेलले सत्ताका लागि सबे एकजुट भएको देख्दा राजनीतिलाई पेशा भन्ने गरेको सही ठहरिएको बताएका छन्।
‘गणेशमान सिंहज्यूुले हामी नेपाली जनतालाई दिएको उपाधि याद आयो। कुशासनको शिकार र क्रिडास्थल हुने सम्भावना शेरबहादुर देउवा हुँदा पनि थियो, अब पनि हुने पक्का,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
खरेल नेपाल प्रहरीका पूर्वडीआईजी हुन्। सुशासन पार्टी खोलेर उनी काठमाडौं– १ बाट प्रतिनिधि सभा सदस्यमा लडेका थिए। तर, पराजित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।